जापानमा ‘नेपाल फेस्टिभल’ आयोजना

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल र नेपालीको जापानमा पहिचान, १४औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रर्वद्धन ’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४औँ ‘नेपाल फेस्टिभल’ सुरु भएको छ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा भोलिसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने यस महोत्सवबाट नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरूको अपनत्वको अनुभूति गराउन सहयोग पुग्ने बताइएको छ।

जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिभलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ।

फेस्टिभलका आर्थिक संकलन अभियान, स्टल बुकिङ, स्वयंसेवक टिम र विभिन्न वेशभूषा, मौलिक कला संस्कृति, नेपाली संस्कृतिका प्रतिभा देखाउने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिभल मूल आयोजक समितिका संयोजक नवीन निउरेले जानकारी दिए।

धार्मिक र सामाजिक सद्भावसहितको नेपाल हाउस निर्माण गराउने मुख्य योजनासहित यस वर्षको ‘नेपाल फेस्टिभल’ गरिन लागेको एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले बताए।

महोत्सवमा नेपाली खानाको र अन्य व्यापारिक प्रयोजनका गरी ४० वटा स्टल राखिएका छन्। महोत्सवमा नेपाली मौलिक कला संस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीयस्थललगायत समेटिएका विभिन्न वृत्तचित्र तथा फोटो प्रदर्शनी गरिने एनआरएनएका प्रवक्ता खगराज गौतमले जानकारी दिए। एनआरएन जापानले सन् २०१२ देखि जापानमा यस किसिमको महोत्सव गर्दै आएको छ।

सुझावित समाचार