सुविधासम्पन्न बनाइँदै सानो गौचरन रंगशाला

खेल पूर्वाधारमा लगानी बढाएको महानगरको दाबी

शुक्रबार, १४ मंसिर, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले सानो गौचरनस्थित रंगशाला पुनर्निर्माण सुरु गरेको छ । महानगरकी उपमेयर सुनिता डंगोलले गौचरनस्थित रंगशालाको पुनर्निर्माण शिलान्यास गरेकी हुन् । 

शिलान्यासका क्रममा महानगरले खेल पूर्वाधार निर्माणमा लगानी बढाएको उपमेयर डंगोलले बताइन् । उनले भनिन्, ‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकाससँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनर्निर्माण गर्न लागेका हौँ ।’ 

विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि पनि कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । उनले यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा गरिन् । वडामा भएको गौचरन पुनर्निर्माणले स्थानीय विकासलाई थप उचाइमा लैजाने वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले बताए । ‘टोल र चोकहरूमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । अब यहाँ व्यवस्थित फुटबल ग्राउन्ड निर्माण हुन्छ । भत्केको पुलमा करिब पाँच रोपनी क्षेत्रफलमा बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ,’ अध्यक्ष प्रजापतिले भने । उनले कार्यान्वयनमा आएका योजनाका विषयमा जानकारीसमेत गराएका थिए ।

पुनर्निर्माणपछि यस्तो हुनेछ गौचरन रंगशाला
पुनर्निर्माणपछि सानो गौचरन रंगशालाको खेल मैदानको लम्बाइ ९६ मिटर र चौडाइ ६२ मिटरको हुनेछ । मैदानमा अकासेपानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सीमा पर्खाल बन्नेछ । रंगशालामा २८ वटा चारपांग्रे र १७८ वटा दुईपांग्रे सवारीसाधन अट्ने गरी पार्किङस्थल हुनेछ । गौचरनको भुइँतलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । यस्तै, एउटा फिजियोथेरापी कक्ष, पुरुषका लागि तीनवटा र महिलाका लागि तीनवटा गरी ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र दुईवटा टिम लकर हुनेछन् । निर्माण कार्यको सार्वजनिक खरिदका लागि गत ३ वैशाखमा सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ जना आवेदकले प्रस्ताव पेस गरेका थिए । जसमध्ये शुभ कन्स्ट्रक्सन छनोट भएको थियो । छनोट भएको निर्माण पक्षलाई २५ कात्तिकको कार्यादेश दिइएको थियो । निर्माण पक्षले आगामी चैत मसान्तभित्र पुनर्निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

रंगशाला १८ रोपनी १ आना २ पैसा ३ दान क्षेत्रफलमा पुनर्निर्माण हुन लागेको हो । गौचरनमा दर्शक क्षमता एक हजार पाँच सयजनाको हुनेछ । २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको पुनर्निर्माणको काम गर्न आह्वान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ कबोल गरेर कन्स्ट्रक्सनले पुनर्निर्माणको जिम्मेवारी पाएको हो ।

सुझावित समाचार