परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ लागेकी हुन् । 

मन्त्री राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक चीन भ्रमणमा गएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए । 

यस भ्रमणका क्रममा मन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुनेछ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उनी चीन गएकी हुन् ।

प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन् ।  परराष्ट्रमन्त्री राणा मंसिर १५ गते शनिबार नेपाल फर्कने कार्यक्रम तय भएको छ । 

सुझावित समाचार