एमसिसी परियोजना : २९७ किमिका तीन प्रसारणलाइन निर्माण गर्न पुनः ग्लोबल टेन्डर

एमसिसी अनुदानमा निर्माण हुने सबै ठुला परियोजना अब प्रक्रियामा

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

लागतभन्दा बढी वित्तीय प्रस्ताव परेका कारण रद्द गरिएको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)अन्तर्गत बन्ने २९७ किमि लामो तीन प्रसारणलाइन निर्माणका लागि पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले बुधबार ११७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा (लट–१), ९० किमि लामो रातमाटे–न्यु दमौली (लट–२) र ९० किमि लामो न्यु दमौली–न्यु बुटवल (लट–३) प्रसारणलाइन बनाउन ग्लोबल टेन्डर आह्वान गरेको हो ।  १७ माघसम्म बोलपत्र पेस गर्न सकिने एमसिए नेपालले जानकारी दिएको छ ।

नेपाल सरकारको १९ करोड ६७ लाख डलर र एमसिसीको ५० करोड डलर अनुदानबाट ४०० केभी क्षमताका ३१५ किमि लामो चार प्रसारणलाइन र ४०० केभी क्षमताका तीन सबस्टेसन निर्माण गरिँदै छ । यसैगरी, पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला–लमही खण्डसहित १३० किमि सडक खण्ड विशेष रूपमा मर्मत गरिँदै छ ।

त्यसमा १८ किमि लामो न्यु बुटवल–नेपाल÷भारत सीमापारसहित ३१५ किमि लामो चार प्रसारणलाइन निर्माणका लागि पहिलोपटक १२ मंसिर ०७९ देखि ७ जेठ ०८० सम्म ग्लोबल टेन्डर आह्वान गरिएको थियो । त्यसमा ६ कम्पनीले प्रस्ताव पेस गरेकोमा पाँच कम्पनी प्राविधिक रूपमा उत्तीर्ण भएका थिए । तर, उनीहरूको न्यूनतम वित्तीय प्रस्ताव लागतभन्दा ६६ प्रतिशत महँगो भएकाले टेन्डर रद्द गरिएको थियो । चार प्रसारणलाइनको लागत अनुमान २२ करोड ६ लाख डलर थियो । तर, टेन्डरमा न्यूनतम वित्तीय प्रस्ताव नै लागत अनुमानको तुलनामा ६६ प्रतिशत बढी अर्थात् ३६ करोड ५९ डलरको परेको थियो । त्यसपछि एमसिए नेपालले २६ असोज ०८० मा उक्त टेन्डर रद्द गरेको उक्त टेन्डर १५ महिनापछि पुनः आह्वान गरेको हो ।

१८ किलोमिटर लामो ४०० केभी क्षमताको ‘न्यु बुटवल–नेपाल÷भारत सीमा’ प्रसारणलाइन बनाउन भने १४ भदौमा भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । २१ महिना अवधि रहेको सो ठेक्काको एक करोड २३ लाख ६० हजार डलरमा सम्झौता गरिएको थियो । यो नेपाल–भारत अन्तरदेशीय लाइनको नेपाल खण्ड हो । उक्त सीमादेखि भारतको गोरखपुरसम्म खण्डको प्रसारणलाइन भने नेपाल–भारतको संयुक्त लगानीमा यसअघि नै निर्माण सुरु भइसकेको छ ।

अघिल्लो बोलपत्र प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको नयाँ बोलपत्रमा परिमार्जित डिजाइन छ । यसैगरी, टावर निर्माणस्थलमा बोलपत्रदाताको सुझावका आधारमा संशोधित प्रावधान समेटिएको एमसिए नेपालको भनाइ छ । एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले टेन्डरमा प्रतिस्पर्धात्मक कम्पनीहरू आउने अपेक्षा गरेको बताए । ‘निर्माणाधीन प्रसारणलाइनमध्ये १८ किमि खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानका कारण बाँकी २९७ किमि प्रसारणलाइन निर्माणका लागि बोलपत्रदाताको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्र आकर्षित हुने कुरामा हामी विश्वस्त छौँ,’ उनले भने । यो बोलपत्र पुनःआह्वान अर्काे उपलब्धि भएको उनले बताए । यद्यपि, प्रसारणलाइनलाई चाहिने जग्गा प्राप्ति भने बाँकी नै छ ।

दुई सडक खण्डको टेन्डर बाँकी 
योसँगै अब एसमसिसीअन्तर्गत बन्ने सबै ठुला परियोजना टेन्डर प्रक्रियामै गइसकेका छन् । अब नियमित मर्मत गरिने दुई सडक खण्डको मात्रै टेन्डर आह्वान हुन बाँकी छ ।

यसअन्तर्गत चार प्रसारणलाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम सडकको धानखोला–लमही सडक खण्डको मर्मत नै ठुला परियोजना हुन् । त्यसमा १८ किलोमिटर लामो ४०० केभी क्षमताको ‘न्यु बुटवल–नेपाल÷भारत सीमा’ प्रसारणलाइन बनाउन भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १४ भदौमा ठेक्का सम्झौता भइसकेको छ । एक करोड २३ लाख ६० हजार डलरमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको हो । ठेक्का अवधि भने २१ महिना रहेको छ ।

यस्तै, यसअन्तर्गत रातमाटे, दमौली र बुटवलमा बन्ने ४००–४०० केभी क्षमताका तीन सबस्टेसनको ठेक्का सम्झौता भइसकेको छ । भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङसँग रातमाटे सबस्टेसन पाँच करोड १५ लाख डलरमा र नयाँ दमौली सबस्टेसन तीन करोड ८८ लाख ९० हजार डलरमा बनाउन सम्झौता भएको छ । रातमाटेको असार १ गते र नयाँ दमौलीको साउन १६ गते ठेक्का सम्झौता भएको थियो । यस्तै, नयाँ बुटवल सबस्टेसन बनाउन तीन करोड ५५ लाख १० हजार डलरमा लिंकसन इन्डिया प्रालिसँग २७ वैशाखमा सम्झौता भएको थियो । पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला–लमही खण्डको मर्मत गर्न पनि ग्लोबल टेन्डर आह्वान भइसकेको छ । गत कात्तिक १४ गते आह्वान गरिएको उक्त टेन्डरको म्याद आगामी पुस १ गतेसम्म छ ।  ४० किमि लामो धानखोला–लमही खण्डलाई फुल डेप्थ रिक्लेमेसन (एफडिआर) र सुपरपेभ प्रविधिमार्फत मर्मत गरिँदै छ ।

नेपाल सरकारको १९ करोड ६७ लाख डलर र एमसिसीको ५० करोड डलर अनुदानबाट ४०० केभी क्षमताका ३१५ किमि लामो चार प्रसारणलाइन, ४०० केभी क्षमताका तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ४० किमि सडक खण्डलगायतका सडक विशेष रूपमा मर्मत गरिँदै छ । ५० करोड डलर अनुदानका लागि अमेरिकासँग सेप्टेम्बर २०१७ मा सम्झौता भएको थियो । जुन सम्झौता १५ फागुन ०७८  मा संसद्बाट अनुमोदन भएपछि २०८० भदौ १३ देखि कार्यान्वयनमा प्रवेश गराइएको थियो । २०८५ भदौ १२ भित्र एमसिसी परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

See More On

सुझावित समाचार