फिलिपिन्सकी उपराष्ट्रपतिले दिइन् राष्ट्रपतिलाई मार्ने धम्की

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण
फिलिपिन्सकी उपराष्ट्रपतिले दिइन् राष्ट्रपतिलाई मार्ने धम्की

उपराष्ट्रपति सारा दुतेर्ते (बायाँ) र राष्ट्रपति मार्कोस जुनियर (दायाँ)

फिलिपिन्सका उपराष्ट्रपति सारा दुतेर्तेले आफूले राष्ट्रपतिको हत्या गर्ने योजना नबनाएको दाबी गरेकी छन् । अनुसन्धानकर्ताले उपराष्ट्रपतिलाई उनको भनाइबारे स्पष्टीकरण सोध्न बोलाएपछि उनको यस्तो खण्डन आएको हो । दुतेर्तेले मंगलबार पत्रकारलाई बोलाएर राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई मार्ने आफ्नो निर्देशन सक्रिय धम्की नभएको बताइन् ।

अनुसन्धानकर्ताले उपराष्ट्रपतिलाई अनुसन्धानका लागि बोलाएपछि उनले पत्रकारसँग अन्तरक्रिया गरेकी थिइन् । दुतेर्तेले गत सप्ताहन्तमा एक ब्रिफिङका क्रममा यदि उनको हत्या गरिएमा मार्कोस, उनकी श्रीमती र उनका भाइ (जो हाल संसद्का सभामुख हुन्)लाई मार्न मानिस तयार पारेर राखेको बताएकी थिइन् ।

दुतेर्तेले पत्रकारहरूसँगको कुराकानीमा पहिले आफू मारिए मात्र आफ्नो निर्देशन पालना हुने भनेर स्पष्टीकरण दिएकी थिइन् । ‘सामान्य दिमाग भएकाले पनि बुझ्न र स्वीकार गर्न सक्नुपर्ने हो कि बदलाका रूपमा गर्न दिएको निर्देशन सक्रिय धम्की वा खतरा हँुदैन,’ दुतेर्तेले भनिन् ।

देशको न्याय विभागले सोमबार राष्ट्रपतिको हत्या गर्ने ‘आत्म–स्वीकृति’बारे अनुसन्धान गर्न उपराष्ट्रपतिलाई बोलाएको थियो । औपचारिक अनुसन्धानमा उनको उपस्थितिको माग गर्दै ‘सब–पोना’ जारी गरिएको छ । राष्ट्रपति मार्कोस जुनियरले पनि आफूविरुद्ध आएका ‘समस्यापूर्ण’ सार्वजनिक अभिव्यक्तिविरुद्ध कदम उठाउने वाचा गरेका छन् । उनले भने ।

देशमा मे महिनामा हुने आमनिर्वाचन नजिकिँदै गर्दा उपराष्ट्रपति र राष्ट्रपतिबिच विवाद बढ्दै गएको छ । मार्कोस र दुतेर्तेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा गठबन्धन बनाएका थिए । त्यसपछि दुईजनाले ठुलो जित हासिल गरेका थिए । तर, जितपछि देशका यी दुई शक्तिशाली राजनीतिक परिवारबिच तिक्तता बढेको छ ।

सुझावित समाचार