एउटै खलामा ५० मुरी धान उत्पादन गर्ने संखुवासभाका कृषक सम्मानित

बुधबार, १२ मंसिर, २०८१
डिजिटल संस्करण
एउटै खलामा ५० मुरी धान उत्पादन गर्ने संखुवासभाका कृषक सम्मानित

पाँचखपन–६ मा कृषक सलबहादुर कार्कीलाई सम्मान गर्दै वडाध्यक्ष बिष्णु श्रेष्ठ । तस्बिर : नयाँ पत्रिका

पूर्वी पहाडी जिल्ला संखुवासभाका एक कृषकले एउटै खलामा ५० मुरी धान उत्पादन गरेपछि सम्मानित भएका छन् । जिल्लाकाे पाँचखपन नगरपालिका– ६ का स्थानीय कृषक सलबहादुर कार्कीले एउटै खलामा ५० मुरी धान उत्पादन गरेपछि ६ नम्बर वडा कार्यालयले सम्मान गरेको हो ।

पाँचखपन नगरपालिका– ६ का वडाध्यक्ष विष्णु श्रेष्ठसहितका वडा परिवारकाे टोली बुधबार सलबहादुर कार्कीको दाइँ गर्दै गरेको खलामा नै पुगेर सम्मानपत्रसहित नगद २० हजार रुपैयाँद्वारा सम्मान गरेको वडाध्यक्ष श्रेष्ठले बताए । आर्थिक वर्ष ०८१/८२ मा वडासभाले ‘एउटै खलाबाट सबैभन्दा धेरै धान थन्क्याउने कृषकलाई पुरस्कारको व्यवस्था’ गरिने शीर्षकअन्तर्गत ६ नम्बर वडाभित्र सबैभन्दा बढी सलबहादुर कार्कीले धान उत्पादन गर्न सफल भएकाले सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । 

वडाभित्रका उत्कृष्ट कृषकलाई सम्मान र प्रोत्साहन गर्ने नीतिअन्तर्गत नयाँ–नयाँ योजना वडासभाबाट नै पारित गरिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा युवाले कृषि पेसा छोडेर वैदेशिक रोजगारीलगायत अन्य विभिन्न पेसा–व्यवसाय अपनाउन थालेकाले कृषि पेसा गर्नेहरूको संख्या घट्दै गएको छ ।

कृषि पेसालाई धेरैले हेयको नजरले हेर्ने कारण उत्पादनमा कमी आउनुका साथै बाँझो जग्गा गाउँ–गाउँमा बढ्न थालेको छ । गाउँ–गाउँका स्थानीय सरकारले नागरिकको शिर उचो हुने खालका नयाँ–नयाँ कार्यक्रम ल्याउँदा प्रोत्साहन र सम्मान हुने बुद्धिजीवीहरू बताउँछन् । 

कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विश्वकर्माले कृषकका लागि प्रोत्साहन र सम्मान गर्ने कार्यक्रम कार्यालयले निरन्तर गरिरहेको बताउँदै स्थानीय सरकारले कृषक सम्मान कार्यक्रम ल्याउँदा खुसी लागेको बताए । 

यो वर्ष संखुवासभामा धान उत्पादन बढ्ने कार्यालय प्रमुख विश्वकर्मा बताउँछन् । भदौ र असोजमा पहाडी क्षेत्रमा वर्षा र हावाहुरी खासै नभएकाले धान उत्पादन बढ्ने आकलन गरिएको कार्यालय प्रमुख विश्वकर्माको भनाइ छ । 

सुझावित समाचार