स्मार्टसिटीका लागि हिंसारहित समाज अनिवार्य : चिरिबाबु महर्जन

सोमबार, १० मंसिर, २०८१
डिजिटल संस्करण

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ‘स्मार्टसिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताएका छन् । 

ललितपुर महानगरपालिकाद्वारा सोमबार आयोजित अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ समारोहमा उनले सभ्य, सुसंस्कृत र आधुनिक समाजका लागि हिंसामुक्त हुनुपर्नेमा जोड दिए।

‘जिम्मेवार पदमा बसेकाले मात्रै हिंसा न्यूनीकरणमा काम गर्न सक्ने हाेइन, सबै मिलेर लाग्नुपर्छ । अब  हिंसाका तथ्यांक र घटना कम गर्न आवश्यक छ,’ महानगर प्रमुख महर्जनले भने। 

उनले हिंसारहित समाजका लागि जोड दिँदै ललितपुरको विकास र समृद्धिका लागि ‘पाटन सिटी डज नट स्लिप’ योजना अगाडि बढाइने बताए। 

महानगर उपप्रमुख मञ्जली शाक्यले हिंसा सहनु र सहने प्रवृत्तिको पक्षपोषण गर्नु सामन्ती प्रथाको पक्षपोषण गर्नु भएकाले सबै सचेत भएर हिंसा न्यूनीकरणमा लाग्नुपर्ने बताइन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले ३६५ दिन नै महिला हिंसाविरुद्धमा लाग्नुपर्ने बताए। उनले हिंसाका घटना भएपछि उपचारको बाटो रोज्नुभन्दा हिंसा हुन नदिन सचेतता फैलाउनुपर्ने आवश्यकता औँल्याए । 

ललितपुरका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सांकेतिक कार्यक्रम मात्रै भएको र हरेक दिन हिंसाविरुद्ध तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिए।

‘जिल्ला प्रहरीमा महिला हिंसाविरुद्ध छुट्टै सेल स्थापना भएको छ । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिएर उजुरी लिने र समाधान गर्ने गरेका छौँ,’ उनले भने।

महिला विकास शाखा प्रमुख शोभा खरेलले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियानलाई प्रभावकारी बनाउन आवश्यक सहयोगका लागि सबैलाई आग्रह गरिन्।
 

See More On

सुझावित समाचार