राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुंगानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।
नेपालको राजनीति, संसद्, कानुन र मानव अधिकार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका तथा सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्न भूमिका खेलेका ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको हाे । कलेजोको क्यान्सरबाट ग्रसित सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
२ माघ १९९८ मा जन्मेका ढुंगाना ०१७ सालदेखि राजनीतिमा लागेका हुन् । ढुंगाना पहिलो जननिर्वाचित सभामुख हुन् । ०४८–५१ असारसम्म सभामुख भएका ढुंगानाको ‘सरकार सत्तापक्षको, संसद् प्रतिपक्षको’ भन्ने भनाइ चर्चित छ ।
ढुंगानाले श्रीलंकामा सम्पन्न सात राष्ट्रको सभामुख फोरममा उत्कृष्ट सभामुखको उपाधि पाएका थिए । ढुंगाना नेपाल मानव अधिकार संगठन, एम्नेस्टी, ट्रान्सपरेन्सीजस्ता संस्थाको संस्थापक पनि हुन् । साहित्यकारसमेत रहेका ढुंगानाको ‘यही हो नेपाल’ भन्ने गीत चर्चित छ ।