भारतीय सेनाका ३०औँ सेनाध्यक्ष उपेन्द्र द्विवेदी बुधबार पाँचदिने औपचारिक भ्रमणका क्रममा नेपाल आउने भएका छन् । गत १६ असारमा सेनाध्यक्ष भएका द्विवेदीको यो पहिलो नेपाल भ्रमण हो । भारतीय सेनाध्यक्षको भ्रमणमा गोर्खा भर्ती तथा सैन्य ऋणबारे छलफल हुनेछ ।
प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय सेनाध्यक्ष द्विवेदीबिच जंगी अड्डामा औपचारिक द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपालबाट रोकिएको गोर्खा भर्ती तथा नेपालले भारतलाई तिर्नुपर्ने सैन्य ऋण मिनाहालगायत विषयमा छलफल हुने तयारी छ । स्रोतका अनुसार भारतीय सेनाका पाँच गोर्खा राइफल्सअन्तर्गत ४३ वटा बटालियनमा ६० प्रतिशत जनशक्ति नेपाली छन् । भारत सरकारले भारतीय सेनामा लागू गरेको अग्निपथ योजनाका कारण नेपालबाट भर्ती रोकिएको छ । अग्निपथअन्तर्गत सुरुमा सेनाको भर्ती चार वर्षका लागि हुनेछ र त्यसपछि ७५ प्रतिशतले अवकाश पाउनेछन् भने २५ प्रतिशतको सेवा निरन्तर हुनेछ । भारत सरकारको यो योजना सन् १९४७ नोभेम्बरमा नेपाल, भारत र बेलायतबिच गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौताअनुकूल नभएको नेपालको निष्कर्ष छ ।
नेपाली सेनाका लागि ०६२/६३ देखि हालसम्म भारतसँग खरिद भएका हतियार, गोलीगठ्ठा, गाडी तथा एम्बुलेन्ससहितका सैन्य सामग्रीबापत तिर्न बाँकी रकम चार अर्ब पुगेको छ । संविधान जारी भएपछि गठित पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वका सरकारले कूटनीतिक च्यानलमार्फत र सेनासम्बन्धी द्विपक्षीय परामर्श समूहको बैठकमा ऋण मिनाहाका लागि भारतसँग अनुरोध गर्दै आएका छन्, तर यसबारे गम्भीरतापूर्वक छलफल भने भएको छैन । नेपाली सेनाका लागि खरिद भएका हतियार तथा सैन्य सामग्रीमा भारतले ६० प्रतिशत अनुदान दिएको छ भने नेपालले मूल्यको ४० प्रतिशत मात्रै तिनुपर्नेछ ।
‘भारतले नेपाललाई बेच्ने हतियार तथा गोलीगठ्ठामा ६० प्रतिशत अनुदान दिने र मूल्यको ४० प्रतिशत मात्रै तिर्नुपर्ने रकम करिब चार अर्ब पुगेको छ । नेपालले राजनीतिक तहमा कुराकानी गरेर कि टुंग्याउनुपर्छ, होइन भने पैसा तिर्नुपर्छ,’ एक पूर्वप्रधानसेनापतिले नयाँ पत्रिकासँग भने, ‘यस्तो संवेदनशील मुद्दालाई नेपालले अनिर्णयको बन्दी बनाउनुहुँदैन ।’ ०७२ मा संविधान जारी हुने वेलासम्म नेपालले भारतलाई दुई अर्ब ४७ करोड रुपैयाँ तिर्नुपर्ने थियो । त्यसवेला नेपाललाई भारतले ताकेता गर्दै आएको थियो । अहिले भारतले ताकेता गरेको छैन, तर नेपालले पनि ऋण तिर्ने मनसाय राखेको छैन । ‘पछिल्लोपटक भारतबाट ताकेता आएको छैन, तर हामीले चाहेको हतियार खरिदका लागि मार्गप्रशस्त गर्न ऋण तिर्ने भनेका हौँ,’ एक सैनिक अधिकारीले भने, ‘तर, भारतलाई बाँकी बक्यौता रकम नतिरेसम्म कुराकानी गर्न अप्ठेरो हुन्छ । हाम्रो हात तल पर्छ ।’
नेपाली सेनाका अधिकारीका अनुसार ऋण समयमा नतिर्दा भारतबाट नेपाली सेनालाई चाहिएअनुसार हतियार तथा सैन्य सामग्रीको आपूर्ति भएको छैन । ‘नेपालले भारतबाट इन्सास, लाइट मेसिनगन (एलएमजी), सर्टमेसिनगन (एसएमजी), जिपिएमजी, टु इन्च मोर्टार, ५० मिलिमिटर लाइट बम, ८१ मिलिमिटर रकेट लन्चरलगायत हतियार र गोली किन्दै आएको छ । यसबाहेक लाइफ ज्याकेट, युद्धकालीन टेलिफोन र तार, ५२५ गजसम्म प्रहार गर्न मिल्ने दुई इन्च मोर्टारलगायत हतियार पनि भारतबाट खरिद भएको छ । ‘यो विषय यत्तिकै अनिर्णीत अवस्थामा राख्नु दुई देश र सेनाको सम्बन्धका लागि उपयुक्त हुँदैन । यसको निकास यथाशीघ्र निकाल्नुपर्छ,’ भारतका लागि पूर्वसैन्य सहचारी रामचन्द्र खत्रीले भने, ‘मेरो सुझाव त नेपालले सैन्य ऋण तिर्नु उपयुक्त हुन्छ ।’
०६३ जेठ अन्तिम साता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा भारतले सैन्य ऋण एक अर्ब ७२ करोड रुपैयाँ मिनाहा गरेको थियो । कोइराला भारत भ्रमणमा जाँदा भारतीय समकक्षी मनमोहन सिंहसँगको वार्तामा उनले यो रकम मिनाहा गरिदिन आग्रह गरेका थिए । बैठकमै भारतीय प्रधानमन्त्री सिंहले तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीलाई मिनाहा प्रक्रिया अघि बढाउन निर्देशन दिए । कोइराला दिल्लीमै रहेका वेला भारत सरकारले उक्त रकम मिनाहा भएको जानकारी दिएको थियो । त्यसवेला कोइरालालाई एसियाका महान् नेता भन्दै प्रधानमन्त्री सिंहले एयरपोर्टमै स्वागत गरेका थिए ।
राष्ट्रपतिले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने
दुई देशको सैनिक परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने तय भएको छ । भारत स्वतन्त्र भएपछि नेपाल र भारतका अधिकांश प्रधानसेनापतिले एक–अर्को सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्दै आएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाध्यक्ष द्विवेदीको भ्रमण हुन लागेको हो । द्विवेदीले प्रधानसेनापति सिग्देललाई भारत भ्रमणको निमन्त्रणा दिनेछन् । सेनाध्यक्ष द्विवेदीले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । उनले सेनाको पश्चिम पृतना हेडक्वार्टर पोखराको भ्रमण गर्ने र मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ । ‘भ्रमणको मुख्य अंशका रूपमा नेपाली सेना र भारतीय सेनाबिचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते एक विशेष समारोहबिच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । द्विवेदीले रक्षामन्त्री मानवीर राई र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।