प्रधानमन्त्री–देउवाबिच छलफल

बुधबार, ५ मंसिर, २०८१
डिजिटल संस्करण

भेटवार्ता सरकार सञ्चालन तथा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा केन्द्रित 

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ पार्टीका दुई शीर्ष नेताबिच मंगलबार साँझ तीन घण्टा लामो छलफल भएको हो । उनीहरूबिच सरकार सञ्चालन प्रभावकारी बनाउने तथा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा केन्द्रित रहेर छलफल भएको हो । प्रधानमन्त्री ओली १७ मंसिरमा चीन भ्रमणमा जाँदै छन् । 

भेटवार्तामा सातबुँदे सहमति र सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनका विषयमा समीक्षाका साथै चीन भ्रमणको एजेन्डाका विषयमा बुँदागत रूपमै छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री ओलीलाई मुछेर व्यवसायी दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत फैलाएको अफवाहपछि प्रहरीले गरेको पक्राउ, सहकारी ठगी प्रकरण र रास्वपाले सञ्चालन गरेको आन्दोलका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । प्रधानमन्त्री ओली र देउवाले सरकार सञ्चालनलाई प्रभावकारी बनाउन १५ कात्तिकमा कांग्रेस र एमाले सम्मिलित राजनीतिक संयन्त्र पनि गठन गरेका थिए । 

छलफलमा कांग्रेसबाट देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा एमालेबाट प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए । प्रधानमन्त्रीसँग छलफलअघि कांग्रेस सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग अलग्गै छलफलसमेत गरेका थिए । 

सुझावित समाचार