कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट छानिएका पाँच उत्कृष्ट खेलाडीमध्ये विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको हो। 

आइकोनिक खेलाडी बनेसँगै विपिनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्न पाउनेछन्।

कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनीष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरबिन्द घर्तीलाई पनि छानेको थियो। उनीहरूले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। बाँकी चार खेलाडीलाई पनि विशेष प्रशिक्षणको व्यवस्था गरिएको छ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन्। कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्। अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ।

सुझावित समाचार