नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण २०२५ जुन १९ देखि २२ सम्म हुने भएको छ। अमेरिकाको मेरिल्यान्ड राज्य तथा वासिंटनडिसी महानगर क्षेत्रमा आयोजना गरिने चलचित्र महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ।
अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सव आयोजना गर्दै आएको छ।
चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनसहित सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन्। नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्दै आएका छन्।
अमेरिकाका वासिंटनडिसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डिएमभी क्लोजअप’अन्तर्गत चलचित्रहरू प्रदर्शन हुनेछन्। स्थापनाकालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरू आगामी २०२५ को संस्करणमा पनि समावेश हुने जनाइएको छ।
अन्तर्राष्ट्रिय चलचित्रकर्मी सम्मिलित समितिले आवेदन परेकामध्येबाट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछ। प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ।
महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशालासमेत हुनेछन्। हरेक चलचित्र प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तर्क्रिया गरिनेछ।