गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन नहुँदासम्म प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। धनगढीमा आज मंगलबार सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले संघीय प्रहरी ऐन जारी भएर प्रहरीलाई सृदृढ संगठनको रूपमा विकास गरेपछि प्रदेशमातहत समायोजन गरिने बताए।
उनले सदनको आगामी अधिवेशनबाट सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिए। ‘हामीले ऐन तयार गरिसक्यौँ । संघीय प्रहरी ऐनपछि प्रहरीलाई सुदृढ संगठनका रूपमा विकास गर्छौँ र त्यसपछि समायोजनको कुरालाई अगाडि बढाउँछौँ,’ गृहमन्त्री लेखकले भने, ‘अहिले समायोजन नहुँदासम्म प्रदेशमा सरकार छ, स्थानीय तहमा सरकार छ, सुरक्षा निकाय र प्रशासनका साथीहरू उहाँहरूसँग समन्वय गरेर काम गर्नोस्।’
नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग भवनलगायत पूर्वाधार तथा स्रोतसाधनको अभाव रहेको उल्लेख गर्दै उनले त्यसमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरे। सुदूरपश्चिममा राजस्व चुहावट नियन्त्रणमा विशेष ध्यान दिन पनि उनले सुरक्षा अधिकारीहरूलाई निर्देशन दिए। त्यस्तै, सुदूरपश्चिममा भयावह अवस्थामा रहेको लागुऔषध नियन्त्रण गर्न पनि गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिए।
‘दुर्घटनाबाट ठुलो जनधनको क्षति भइरहेको छ, ट्राफिकले, प्रहरीले विशेष कार्ययोजना बनाएर दुर्घटना नियन्त्रणका काम गर्न जरुरी छ,’ उनले भने, ‘त्यसका लागि प्रदेश सरकारले पनि तपाईंहरूलाई सहयोग गर्छ ।’ मन्त्री लेखकले अराजकता नियन्त्रण गरेर समाजमा शान्तिसुरक्षा कायम गर्नेतर्फ केन्द्रित हुन सुरक्षा निकायलाई निर्देशन दिए।
सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सुदूरपश्चिमका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, नेपाली सेनालगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको छ।