स्वर्गीय प्रधानाध्यापक मेघराज धमलाको स्मृतिमा अक्षयकोष स्थापना

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

अक्षयकोष घोषणा कार्यक्रममा मृतक धमलाका परिवार तथा आफन्त गरी २९ जना व्यक्तिले स्वेच्छिक रूपमा नौ लाख ४५ हजार रकम उपलब्ध गराए

हृदयघातका कारण ज्यान गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । भाइटीका लगाएर काठमाडौंबाट घर (दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १ आचार्य गाउँ) फर्कने क्रममा गत कात्तिक २१ गते ज्यान गुमाएका ३९ वर्षीय प्रधानाध्यापक धमलाको स्मृतिमा परिवारका सदस्य तथा आफन्तले अक्षयकोष स्थापना गरेका हुन् ।

हृदयघातका कारण अल्पायुमै ज्यान गुमाएका प्रधानाध्यापक धमलाको १२औँ पुण्यतिथिको अवसर पारेर औपचारिक रूपमा अक्षयकोष स्थापना गरिएको मृतकका साथी गोपालचन्द्र आचार्यले जानकारी दिए । ‘मृतक धमला एउटा शिक्षक मात्र नभई समाजसेवीसमेत हुनुहुन्थ्यो । उहाँको अल्पायुमै भएको दुःखद निधनले परिवार तथा समाजमा ठुलो क्षति पुगेको छ,’ उनले भने, ‘एकजना कुशल प्रधानाध्यापक तथा समाजसेवी धमलाको मृत्यु भएपछि उहाँको स्मृतिमा ‘मेघराज धमला स्मृति प्रतिष्ठान’ दर्ता गर्ने तयारीमा जुटेका छौँ । सोही प्रतिष्ठानको हातहतमा रहने गरी परिवारका सदस्य तथा आफन्त मिलेर अक्षयकोष स्थापना गरिएको हो ।’

आगामी दिनमा अक्षयकोषको राशि बढाउँदै लैजाने गरी स्थापना गरिएको ‘स्वर्गीय मेघराज धमला स्मृति अक्षयकोष’को वार्षिक ब्याजबाट बर्सेनि एकजना जिल्ला उत्कृष्ट प्रधानाध्यापक तथा मृतक प्रधानाध्यापक धमला कार्यरत विद्यालयका उत्कृष्ट एकजना विद्यार्थीलाई पुरस्कृत गरिने जनाइएको छ । मृतक प्रधानाध्यापक धमलाको नाममा स्थापना गरिएको अक्षयकोष घोषणा कार्यक्रममा मृतक धमलाका परिवार तथा आफन्त गरी २९ जना व्यक्तिले स्वेच्छिक रूपमा नौ लाख ४५ हजार रकम उपलब्ध गराएका छन् । 

अक्षयकोषमा मृतकका जेठा दाजु तुलसी धमलाले दुई लाख, माहिला दाजु यादव धमलाले एक लाख, साढुभाइ ओमप्रकाश घिमिरेले एक लाख तथा भिनाजु युवराज फुयाँल र साढुभाइ श्याम प्रधानले ५०–५० हजार रकम उपलब्ध गराएका छन् । यस्तै, काका लोकनाथ धमला, दाजुहरू डिल्लीराम धमला, भरत धमला र मनोज आचार्यले २५–२५ हजार रकम उपलब्ध गराएका छन् ।

साथीहरू गोपालचन्द्र आचार्य, हरिबाेल आचार्य, जोसेफ रिजाल, उत्तम आचार्य, प्रकाश आचार्य, इन्द्रप्रसाद आचार्य, पदमप्रसाद आचार्य ‘माझघरे’ र युवराज बस्नेतले पनि २५–२५ हजार रकम उपलब्ध गराएका छन् । यस्तै, मृतक धमला कार्यरत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले २५ हजार, भिनाजु झमप्रसाद आचार्य, दाजु टंकप्रसाद आचार्य ‘टिपी’ र भाइ पंकज आचार्यले १५–१५ हजार रकम उपलब्ध गराएका छन् ।

काका परशुराम ढुंगाना, दाजुहरू पदमप्रसाद आचार्य र छवि आचार्य, ज्वाइँ नेत्र बास्तोला, साथीहरू विराज आचार्य, फणीन्द्र आचार्य र अर्जुन खवासले  १०–१० हजार तथा दाजु तुलसी धमला (क)ले  पाँच हजार उपलब्ध गराएका छन् । घोषणा कार्यक्रममा रकम उपलब्ध गराउन छुट भएका शुभेच्छुकले बैंक खातामा समेत उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइएकाे छ ।

अक्षयकोष घोषणा कार्यक्रमकै अवसर पारेर मृतक धमलाका दाजु यादव धमलाको अध्यक्षतामा १० सदस्यीय ‘मेघराज धमला स्मृति प्रतिष्ठान’ तदर्थ समितिसमेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा सन्तोषी बस्नेत, सचिवमा गोपालचन्द्र आचार्य र कोषाध्यक्षमा मैया आचार्य रहेका छन् ।

दाजु यादव धमलासँग एउटै मोटरसाइकल चढेर काठमाडौंबाट घर फर्कँदै गरेको अवस्थामा नेपालथोकमा आइपुग्दा मुटु दुखेर एक्कासि बेहोस बनेका प्रधानाध्यापक धमलालाई एम्बुलेन्समार्फत बनेपाको धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालमा उपचार सम्भव नभएपछि सहिद गंगालाल हृदय रोग केन्द्र काठमाडौं रिफर गरिएकोमा गंगालाल पुर्याउना साथ उनलाई मृत घोषणा गरिएकाे थियाे ।

दिदीको हातबाट फूलटीका लगाएर फर्कने क्रममा ज्यान गुमाएका प्रधानाध्यापक धमलाको पार्थिव शरीर कात्तिक २२ गते घरमा ल्याएर गुप्तेश्वर आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । प्रधानाध्यापक धमलाको निधनको शोकमा नगरपालिकाको कार्यालयमा आधा घण्टा राष्ट्रिय झन्डासमेत झुकाइएको थियो । 

मृतक प्रधानाध्यापक धमलाका श्रीमती र दुई छोरी छन् । प्रधानाध्यापक धमला खोटाङका प्रथम सहिद ठुलकुमार श्रेष्ठका जेठो ज्वाइँ (जेठी छोरी करुणा श्रेष्ठका श्रीमान) हुन् ।

सुझावित समाचार