कर प्रणाली लगानीमैत्री बनाउन चेम्बरको माग

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले कर प्रणालीलाई लगानीमैत्री बनाउन सरकारले काम गरिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले सोमबार आयोजना गरेको राजस्व नीति र कर प्रणालीबारे अन्तरक्रियामा बोल्दै उनले देशमा लगानीको वातावरण छैन भन्ने भाष्यलाई चिर्नुपर्ने बताए ।

‘लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न नसकिए पनि अर्थतन्त्र अहिले ठीक ठाउँमा छ, राजस्व प्रणाली र सरकारको खर्च प्रणालीमा सुधार हुँदै आएको छ,’ महानिर्देशक आचार्यले भने, ‘देशमा आर्थिक उपलब्धिका लागि सरकार र निजी क्षेत्रले आपसी सहकार्य गर्नुको विकल्प छैन ।’ उनले नक्कली भ्याट बिल–बिजकको समस्या समाधान गर्ने प्रयास भइरहेको बताए । 

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्नेमा जोड दिएका थिए । ‘कर प्रशासन र कर नीति सहज र सरल भयो भने लगानीमैत्री वातावरण बन्छ, लगानी वृद्धि भएर निजी क्षेत्रले नाफा कमाए मात्रै कर वृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘देशमा पुँजी निर्माण भएर रोजगारी सिर्जना र उत्पादन वृद्धि हुने गरी सरल र सहज नीति बनाउनुपर्छ ।’

अर्थतन्त्रमा झन्डै ८१ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई सहजीकरण र स्थिर नीतिगत व्यवस्था गरे दिगो अर्थतन्त्रको विकास र राजस्व संकलनको लक्ष्य पूरा गर्न समस्या नहुने उनको भनाइ थियो । अध्यक्ष अग्रवालले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिएर सन्दर्भ मूल्यलाई खारेज गर्नुपर्नेमा जोड दिए । 

सुझावित समाचार