भारतका भूतपूर्व प्रधानमन्त्री लालबहादुर शास्त्री अत्यन्त सादा जीवन बिताउँथे । उनको लवाइ, खुवाइ या बसाइ कतै पनि कुनै तडकभडक देख्न पाइँदैनथ्यो । उनी अत्यन्त सादा पोसाक लगाउँथे । र, सकभर सामान्य जीवन बिताउँथे । महात्मा गान्धीको सादा जीवन उच्च विचारका सच्चा अनुयायी थिए शास्त्री ।
एकपटक लालबहादुर शास्त्री भारतका प्रधानमन्त्रीमा चुनिए । उनी शपथमा जान तयार भए । शपथका लागि लगाउन शास्त्रीसित गतिलो लुगा थिएन । उनीसित जम्मा दुईजोर धोती थिए । तर, दुवै फाटेका थिए ।
त्यसैले, शास्त्री शपथग्रहणका लागि फाटेकै धोती लगाएर जान तयार भए । यो देखेर उनकी पत्नीले भनिन्– शपथग्रहणका लागि राष्ट्रपति भवन जाँदै गर्दा यस्तो फाटेको धोती के लगाउनु ? बरु तत्काल बजारबाट एउटा अलि गतिलो धोती किनेर ल्याए त भइहाल्यो नि ! पत्नीको सुझाव सुनेर शास्त्री एकैछिन गम्भीर भए ।
अनि, उनले भने– तिमीले ठिक भन्यौ । म प्रधानमन्त्री बन्दै छु । त्यसका लागि शपथ लिन राष्ट्रपति भवन जाँदै छु । म एउटा राम्रो नयाँ धोती किनेर लगाउन पनि सक्छु ।
तर, के म नयाँ धोती लगाउन प्रधानमन्त्री बनिरहेको हो र ? यो देशमा मेरो यही फाटेको धोती पनि लगाउन नपाउने कति किसान र मजदुर होलान् ? के मैले मात्रै नयाँ धोती लगाएर हुन्छ ? प्रधानमन्त्रीले आफ्नो भन्दा पनि तिनै गरिब जनताको धोती बदल्ने गरी काम गर्नुपर्छ ।
त्यसैले, म यही धोतीमा शपथग्रहण गर्छु, मलाई नरोक ।
शास्त्रीको भनाइ सुनेपछि उनकी पत्नी, त्यहाँ उपस्थित सरकारी कर्मचारी र उनका सुरक्षाकर्मीसमेत नतमस्तक भए ।