हिमालय पग्लने र समुद्री सतह बढ्ने समस्या मिलेर समाधान गर्न मन्त्री ठकुरीको आग्रह

सोमबार, ३ मंसिर, २०८१
डिजिटल संस्करण

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालय क्षेत्रकाे हिउँ पग्लने र समुन्द्री सतह बढ्नेजस्ता जलवायुजन्य समस्या निराकरणका लागि सँगै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका विशेष सल्लाहकार र जलवायु कार्य टोलीका सहायक महासचिव सेल्बिन हार्टसँगको भेटवार्तामा उनले यस्ता समस्या मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका हुन्। 

सबै सदस्य मुलुक एकजुट भएर जलवायु संकट समाधानमा प्रतिबद्ध रहनुपर्नेमा जोड दिँदै मन्त्री ठकुरीले समस्या समधानमा लाग्न प्रेरित गरेर अघि बढ्न जरुरी रहेको बताए। गत वर्ष गुटेरेसले गरेको नेपाल भ्रमणले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्न सहयोग मिलेको भन्दै उनले त्यसका लागि धन्यवाद व्यक्त गरे।

भेटमा मन्त्री ठकुरीले निरन्तर बढ्दो तापमान र विश्वभरि बढ्दै गएका जलवायुजन्य घटनासँगै, नेपालले हालै विनाशकारी वर्षा र त्यसका कारण आएको बाढीपहिरोमा परी २५० भन्दा बढीको मृत्यु र धेरै भौतिक क्षति पुर्याएको बताए। ‘हिमालय क्षेत्रको हिउँ पग्लने र समुद्र सतहको वृद्धिजस्ता समस्यालाई सँगै मिलेर समाधान गर्न आवश्यक छ, पर्वतीय क्षेत्रमा हुने जलवायुजन्य प्रकोपको प्रभाव केवल पर्वतीय क्षेत्रमा मात्र सीमित हुँदैन। त्यसका असर त्यहाँबाट धेरै पर, विशेष गरी तटीय क्षेत्रमा देखिन्छन्, जसले अन्ततः समुद्रको स्तर वृद्धि गर्न योगदान पुर्याइरहेको छ।’ 
 

सुझावित समाचार