नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ। सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंकले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रतर्फ अहिलेसम्म आठपटक यो सम्मान प्राप्त गर्न सफल भएको छ।
यो वर्ष पनि आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो। शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रमबिच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरे। उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका हुन्।
नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरूसहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ। यसअघि आर्थिक वर्ष ०६७/६८, ०७०/७१, ०७१/७२, ०७३/७४, ०७५/७६, ०७६/७७ र ०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो।
नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ।