अवैध आप्रवासनप्रति ट्रम्प कठोर बन्ने

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई लक्षित कठोर नीति ल्याउने संकेत गरेका छन् । त्यसका लागि उनले आफ्नो पहिलो कार्यकालमा काम गरेका अधिकारीहरूलाई धमाधम फेरि जिम्मेवारी दिन थालेका छन् । ७८ वर्षीय ट्रम्पले आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई जिम्मेवारी दिने बताएका छन् । ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दैै आएका छन् । ट्रम्पले जनरवरीदेखि आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै छन् ।

‘म पूर्वआइसिई निर्देशक र सीमा नियन्त्रणका दृढ समर्थक होमनलाई राष्ट्रको सीमाको जिम्मेवारीमा सामेल गराउने घोषणा गर्न पाउँदा खुसी छु,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् ‘मैले होमनलाई लामो समयदेखि चिनेको छु ।’ ट्रम्पले होमनलाई ‘सबै गैरकानुनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइनेसमेत बताए । निर्वाचन अभियानका क्रममा ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्ने बताउँदै आएका थिए । उनले कागजातविहीन आप्रवासीहरूविरुद्ध बारम्बार आक्रोश व्यक्त गरेका थिए । नोभेम्बर ५ को निर्वाचनपछि कमब्याक भएको छ । अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनमा वर्षौँदेखि संघर्ष गरिरहेको छ । आप्रवासीले अमेरिकीमाथि ‘आक्रमण’ गरेका उनले दाबी गरेका थिए ।

चुनावी भाषणमा ट्रम्पले आफ्ना समर्थकहरूलाई आप्रवासन तथ्यांक र नीतिबारे भ्रममा पारेको विपक्षीले आरोप लगाएका थिए । ट्रम्पको शासनकालमा बढेको हिंसात्मक अपराध राष्ट्रपति जो बाइडेनको प्रशासनमा घटेको छ ।

विज्ञहरूका अनुसार आप्रवासीले रैथाने वासिन्दाको अनुपातमा कम अपराध गर्छन् । यद्यपि महिला र बालबालिकामाथि हुने गरेका केही हिंसात्मक आक्रमणमा ‘हाई प्रोफाइल’ विदेशी संदिग्धहरूको नाम आउने गरेको छ । यसले आप्रवासनविरोधी रिपब्लिकनहरूलाई क्रोधित बनाएको छ ।

मेक्सिकोबाट गैरकानुनी रूपमा सीमा पार गर्ने आप्रवासीहरूसँग अमेरिकी सीमा सुरक्षाकर्मीसँगको मुठभेड अहिले पनि बढ्दो छ । ट्रम्पले सन् १७९८ को एलियन एनिमिज एक्ट प्रयोग गरेर आप्रवासी गिरोहलाई सम्बोधन गर्ने वाचा गरे । उक्त ऐनले संघीय सरकारलाई शत्रु देशबाट आएका विदेशीलाई पक्रन र निर्वासन गर्न अनुमति दिन्छ । यो ‘अप्रेसन अरोरा’ नाम दिएको सामूहिक निर्वासन अभियानको हिस्सा हो । चुनावी अभियानका क्रममा ओहायोको स्प्रिङफिल्डमा हाइटीका आप्रवासीहरूले स्थानीवासीको घरपालुवा जनावर खाने गरेको काल्पनिक विवरणलाई पनि ट्रम्पले प्रचार गरेका थिए । 
 

See More On

सुझावित समाचार