नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा राजेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । बागलुङमा सम्पन्न संघको ४२औँ केन्द्रीय सभाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय समिति निर्वाचित गरेको हो ।
अध्यक्षको उमेदवारी दिएका चारजनामध्ये निरञ्जनप्रसाद श्रेष्ठ र राजेन्द्रबहादुर श्रेष्ठको मत बराबरी भएपछि गोलाप्रथाबाट चितवनका राजेन्द्र अध्यक्षमा निर्वाचित भएका हुन् । उम्मेदवारद्वयले १०—१० मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का उम्मेदवार मनोजकुमार उप्रेतीले पाँच मत र डा. किरण रेग्मीले दुई मत प्राप्त गरेका थिए । संघको कोषाध्यक्षमा निर्माणकुमार श्रेष्ठ निर्वाचित भएको निर्वाचत अधिकृत भुमिश्वर गौतमले जानकारी दिए ।
महिलातर्फको केन्द्रीय सदस्यमा कमला सापकोटा र राधिका गुरुङ निर्वाचित भए । संघको युवा सदस्यतर्फ प्रमिला खड्का र भागिरथी भट्ट, यौनिक तथा अल्पसंख्यक क्षेत्रबाट संजिया श्रेष्ठ, कानुनी क्षेत्रबाट चन्द्रमाया श्रेष्ठ, अर्थ सदस्य गजेन्द्रदेव लेखक र यौन तथा प्रजनन स्वास्थ्य सदस्य दिनेशमानसिंह प्रधान निर्वाचित भएका छन् ।