नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक कामका लागि निजी क्षेत्रले सधैँ सहकार्य गर्ने बताएका छन्। बागलुुङमा जारी लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ जे को दोस्रो क्याबिनेट बैठक उद्घाटनका क्रममा उनले सामाजिक काम गर्ने संघसंस्थासँग निजी क्षेत्र सहकार्यका लागि सधैँ तयार रहेको बताएका हुन्।
सो अवसरमा उनले राज्यले लगानीमैत्री वातावरण बनाउन सके नेपालमै धेरै सम्भावना रहेको पनि बताए। ‘नेपालमा केही छैन भन्ने होइन, यहाँ केही गर्नुुपर्छ भनेर सोचौँ। नेपालमा केही सम्भावना छैन भन्ने भाष्यलाई चिरौँ,’ ढकालले भने, ‘नेपालमा वास्तवमा धेरै सम्भावना छ। यहाँ लगानी गर्ने वातावरण विकास गरौँ। धेरै गर्न सकिन्छ भनेर हामी व्यवसायीले उदाहरण देखाउनुपर्छ।’
ढकालले उद्योगी व्यवसायीलाई सरकारले साथ दिएमा नेपालमा धेरै सम्भावना भएको प्रमाणित गर्ने बताए। उनले देशमा लगानी गर्न खोज्नेको धेरै जमात रहेको र त्यो जमातलाई यही राख्न सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
‘हामीले यही केही गर्न सक्छौँ भनेर आटौँ, आउनुहोस् सबै मिलेर सहकार्य गरौँ,’ अध्यक्ष ढकालले भने, ‘यहाँ लायन्स जोडौँ, सामाजिक र राजनीतिक व्यक्तिहरूलाई जोडौँ समाजलाई जोडौँ, समुदायलाई जोडौँ आफ्नै देशमा केही गरौँ।’ उनले निजी क्षेत्रले अन्य क्षेत्रसँग सहकार्य गरी यही रोजगारी सिर्जना गर्न सकिन्छ र यही लगानी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ १० अर्ब लगानीमा नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड सञ्चालन गरेको बताए।
ढकालले यहाँ मुख्य गरी पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि र पूर्वाधारका क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने बताए। ढकालले आमजनतालाई सकारात्मक सोचको विकास गराएर यही केही गरौँ भन्ने सोच बनाउन सके समृद्ध नेपाल सुुखी नेपालीको नतिजा दिन सकिने बताए। करिब ६ लाख सदस्य रहेको नेपाल उद्योग वाणिज्य संघले अब हरेक सदस्यलाई उत्पादनसँग जोड्ने कार्यक्रम अगाडि सारेको बताए।
ढकालले लायन्स क्लबमा आबद्ध सदस्यहरू निश्वार्थ भावले सहयोगमा जुटेको हुँदा यो सहयोगमा नेपाल उद्योग वाणिज्य संघ पनि सहकार्य गर्न तयार रहेको बताए।