शिक्षामन्त्री भट्टराईद्वारा कार्यालयहरूको आकस्मिक निरीक्षण

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीबार सानोठिमीस्थित मातहतका कार्यालयहरूको आकस्मिक निरीक्षण गरेकी छिन्।

विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषद्को सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेकी मन्त्रीले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गरेकी हुन्।

निरीक्षणलगत्तै मन्त्री भट्टराईले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न तथा पाठ्यसामग्रीलाई भाषिक र चित्रांकनका दृष्टिले त्रुटिरहित बनाउन सुझाव दिइन्।

सो अवसरमा मन्त्री भट्टराइले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बन्धनमा सञ्चालित विद्यालय सम्बद्ध काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी लिइन्। शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँगको अन्तर्क्रियामा मन्त्री भट्टराईले अनु‌सन्धानलाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई  कार्यान्वयन गर्नका निम्ति योजनास‌हित अन्तरनिकाय समन्वय गर्नसमेत सुझाव दिइन्।

निरीक्षणपछि उनले पुस्तकालयमा सबै उमेर समूहका पाठकका लागि उप‌योगी पुस्तक थप गरी पुराना महत्त्वपूर्ण पुस्तकको संरक्षणसहित आधुनिक ढंगले पुस्तकालय व्यवस्थापन गर्नुपर्ने बताइन्। उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका श्रव्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुँचमा पुर्याई विशेषतः कक्षा १० र १२ को उपलब्धि सुधार गर्न सक्रिय हुन सबैलाई सचेत गराइन्।

सुझावित समाचार