बुटवलमा रविमाथि बयान जारी

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण

सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग दुई दिनमा साढे १२ घण्टा बयान लिइएको छ । सरकारी वकिलको कार्यालय रुपन्देहीमा मंगलबार तीन घण्टा ३५ मिनेट र बुधबार लगातार नौ घण्टा गरी साढे १२ घण्टा बयान लिइएको हो । बयान लिने काम अझै नसकिएको प्रहरीले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बुधबार बिहान सवा १० देखि साँझ ७:१० सम्म बयान लिइएको जानकारी दिए । बुटवलस्थित सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएको हो । जिल्ला न्यायाधिवक्ता पौडेलले बयान अन्तिम अवस्थामा पुगे पनि अझै नसकिएको बताए । बिहीबार नम्बरिङ र रुजुको कामपछि आवश्यकताअनुसार बयान हुने उनको भनाइ छ । लामिछानेसँग बयान लिन नौजनाको टिम खटिएको थियो । जसमा पाँचजना अनुसन्धान अधिकृतसहित सरकारी वकिलको टिम थियो । सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्ने क्रममा लामिछानेले बयानमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको स्रोतले जनाएको छ । बयानपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए । 

गत २ कात्तिकमा काठमाडौंको वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई कास्की लगिएको थियो । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि मंगलबार  भैरहवा ल्याइएको थियो । सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही ल्याएको हो । संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

रास्वपाको प्रदर्शन निरन्तर
पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले भैरहवामा बुधबार पनि प्रदर्शन गरेको छ । भैरहवा लुम्बिनी रोडमा लामिछानेको पक्षमा प्रदर्शनपछि कोणसभा गरिएको थियो । कोणसभामा रास्वपाका उपसभापति डिपी अर्यालसहितका नेताहरूले सम्बोधन गरेका थिए । रास्वपा नेताहरूले सरकारले गलत नियतले लामिछानेलाई दुःख दिइरहेको बताए । उनीहरूले राजनीतिक षड्यन्त्र चिरेर अगाडि बढ्नुपर्ने अवस्था आएको समेत बताए ।

सुझावित समाचार