केरुङ र खासा गोदाममा थन्किए सामान

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण
  • फलफूलका ३० र लत्ताकपडाका करिब दुई हजार कन्टेनर सामान केरुङ गोदाममा 
  • खासातर्फ करिब १५० कन्टेनर सामान क्युमा 
  • फलफूल कुहिनु र रेडिमेड सामानको फेसन आउट हुने जोखिम

दसैँअघि चिनियाँ सहरबाट खासा र केरुङ आइपुगेका फलफूल र लत्ताकपडा नेपाली व्यापारीले अझै राजधानी काठमाडौं पुर्याउन सकेका छैनन् । १२ असोजको पहिरोले तातोपानीमा नेपालपट्टि र रसुवातर्फ चीनको केरुङ क्षेत्रको सडक ध्वस्त भएपछि गोदाममा थन्किएका सामान अझै ल्याउन सकिएको छैन । 

पहिरो गएको २६ दिनपछि ८ कात्तिकमा तातोपानी नाका र लगत्तै रसुवागढी नाका पनि सञ्चालनमा आएको थियो । तर, चीन क्षेत्रका विभिन्न गोदाममा रहेका फलफूल र लत्ताकपडा नेपाल ल्याउन व्यापारीलाई कठिनाइ परेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार दसैँ, तिहार र जाडोका लागि ल्याइएका सामान र फलफूल अझै चिनियाँ क्षेत्रमै छन् । ‘फलफूल कुहिनु र रेडिमेड सामानको फेसन आउट भएर घाटा बढेको छ,’ उनले भने ।

फलफूलका ३० र लत्ताकपडाका करिब दुई हजार कन्टेनर सामान केरुङ गोदाममा छन् । खासातर्फ करिब १५० कन्टेनर सामान क्युमा छन् । पहिरोपछि महिना दिनमा बनेको केरुङ सडकमा दोहोरो कन्टेनर चल्न दिइएको छैन । सडक कमजोर भएकाले चिनियाँ ट्राफिक प्रहरीले ढिला गरेर कन्टेनर छाड्ने गरेका छन् । 

खासापट्टि चिनियाँ अध्यागमन र भन्सारले घण्टामा एउटा मात्र कन्टेनर चेक गरेर छाड्ने गरेका छन् । चिनियाँ लापरबाही र हेपाहा प्रवृत्तिले नेपाली व्यापारी मारमा परेका हुन् । 

सडक र खासा बजारको पुनर्निर्माणलाई देखाएर मालबाहक कन्टेनर महिनौँदेखि सडक किनारामा रोकिएका छन् । पालो कुरेर बस्दा पार्किङ भाडा, चालकलाई खानेबस्ने खर्च बढी निस्कन्छ । चिनियाँ सहरबाट सात दिनमा केरुङ र खासामा आउँदा लाग्ने ढुवानी भाडाभन्दा केरुङबाट काठमाडौं आउन बढी भाडा लागेकाले व्यापारी चिन्तित छन् । 

कन्टेनर भाडा दोब्बरभन्दा बढीले बढ्यो
पहिरोअघि रसुवा भन्सारबाट स्याउ बोकेर काठमाडौं आएको कन्टेनरको भाडा ८० हजार थियो । अहिले बढेर दुई लाख ३० हजारसम्म पुगेको छ । रेडिमेड सामान बोकेका कन्टेनर भाडा एक लाखबाट बढेर दुई लाख ५० हजार पुर्याइएको छ । केरुङ गोदाममा स्याउ कुहिन लागेकाले बढी भाडा तिरेर भए पनि फलफूल आयात गरिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका प्रतिनिधि व्यापारी शारदाप्रसाद पराजुलीले बताए । ‘केरुङमा रहेका कोल्डस्टोर भरपर्दो नभएको र फलफूल कुहिन थालेकाले बढी भाडा तिरेर सामान ढुवानी गर्न बाध्य भयौँ,’ उनले भने, ‘यसको सबै भार उपभोक्तामा पर्छ ।’ 

यसपालि फलफूल व्यापारीले उत्तरी नाकामा १० करोड नोक्सानी व्यहोर्नुपरेको उनले सुनाए । ठुला व्यापारीलाई एक करोड र साना फलफूल व्यापारीलाई १० लाखसम्म घाटा लागेको आकलन गरिएको छ । 

जथाभावी भाडा बढाउँदा व्यापारी र उपभोक्तामा ठुलो असर पर्ने जनाउँदै रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले वक्तव्य जारी गरेर अनधिकृत भाडा नबढाउन चेतावनी दिएका थिए । तर, साबिक भाडादर कायम हुन सकेको छैन । 

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले ठुलो परिमाणमा गोदाममा सामान थुप्रिँदा वस्तुको भोल्युम बढी, तर कन्टेनर कम भएकाले भाडा बढेको बताए । ‘फलफूल कुहिनु र रेडिमेड सामानको फेसन आउट भएर घाटा व्यहोर्नुभन्दा बढी भाडा तिरेरै भए पनि व्यापारीले आफ्नो सामान राजधानी ल्याएका हुन्,’ उनले भने । 

साबिक दरमा भाडा कायम गर्न प्रशासन र व्यापारी संघसंस्थाबिच छलफल भए पनि निष्कर्ष निस्केको छैन । खासापट्टि पनि कन्टेनर भाडा बढाउन ट्रान्सपोर्ट कम्पनीले बैठक गरेका छन् । खासा पुनर्निर्माण जारी रहेकाले चिनियाँ अध्यागमन र भन्सारले दैनिक १५ कन्टेनर सामान छोड्ने गरेको छ । 

सयौँको संख्यामा रहेका कन्टेनरले महिना दिनसम्म पालो कुर्दा बढी खर्च हुने भएकाले भाडा बढाउन लागेको ट्रान्सपोर्ट कम्पनीले बताएका छन् । तर, हालसम्म तातोपानीबाट राजधानी काठमाडौं आउने कन्टेनर भाडा बढेको छैन । ‘खासा पुनर्निर्माणले रोकिएका कन्टेनर छाड्न हामीले चिनियाँ पक्षसँग बारम्बार अनुरोध गरेका छौँ,’ तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले भने ।

दसैँपछि तातोपानी नाकाबाट कन्टेनर कम आएका छन् । खासापट्टि आउने कन्टेनर बिचबाटोमा रोकिएकाले यस्तो अवस्था आएको हो । दसैँपछि इलेक्ट्रिक कारको भन्सार भइरहकोले मालबाहक कन्टेनर कम आएका हुन् । आगामी हप्ताबाट पुरानै लयमा खासाबाट नेपालपट्टि कन्टेनर आउने र राजस्व संकलनमा पनि सुधार हुने उनले बताए ।
 

सुझावित समाचार