रवि लामिछानेलाई रुपन्देही ल्याइयो, बयानका लागि सरकारी वकिल कार्यालयमा

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मंगलबार रुपन्देहीमा ल्याइएको छ। कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि आज रुपन्देही ल्याइएको हो। सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका लामिछानेलाई आइतबार मात्रै कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले  रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही ल्याएको हो । आज बिहानै ल्याउने तयारी गरिए पनि जहाज समयमा उडान नहुँदा केही घण्टा ढिला रुपन्देही ल्याइएको छ । भैरहवास्थित विमानस्थलबाट उनलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार पोखराबाट भैरहवा ल्याएपछि उनलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ । कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरेको थियो । कात्तिक २ गते पक्राउ परेका उनलाई  कास्की प्रहरीसँगको समन्वयमा सोमबार विमानबाट भैरहवा ल्याइने तयारी गरे पनि विमानको समय नमिलेपछि आज ल्याइएको हो ।

रुपन्देही जिल्ला अदालतबाट प्रहरीले लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको छ। जिल्ला अदालत रुपन्देहीले यही कात्तिक ८ गते बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी नै जारी गरेको थियो ।

जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बिहीबार १२ जनाविरुद्ध पक्राउ अनुमति दिएको हो । अदालतले लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, दीपक लामा, अनन्तबाबु राई, श्रीबल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङविरुद्ध पक्राउ अनुमति दिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रुपन्देही अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध–निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो। अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् भने सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन्।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा अदालतले गत वैशाखमा अध्यक्षलाई थुनामा पठाउनेदेखि अन्य केहीलाई धरौटीमा छाड्नेसम्मका आदेश गरेको थियो । रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि वैशाख ७ गते  सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाएको थियो । त्यस्तै, ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपतिपुत्र दीपेशकुमार पुनसँग चार लाख धरौटी माग गरेको थियो। यस्तै, नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग चार लाख ४५ हजार, नीता थापामगरसँग दुई लाख र रोशनी गुरुङसँग पनि दुई लाख धरौटी माग गरेको थियो ।

 सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको थियो । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जिबी) राईसहित १९ जनालाई पक्राउ पुर्जी (समाह्वान) जारी गर्ने आदेश भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले सो प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो ।  सहकारीमा नियमित बचत गरेको सर्वसाधारणको रकम ठगी गरेको भन्दै एक हजारभन्दा  बढीले प्रहरीमा उजुरी गरेका थिए । सहकारीमा जिबी राईसहितको समूहले सर्वसाधारणबाट बचत भएको  करोडौँ रकम  अपचलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनमा  करोडौँ रकम अपचलन भएको तथ्य फेला परेपछि सोहीअनुसारको  प्रतिवेदन प्रहरीले बुझाएको थियो ।

प्रहरीले  करिब एक अर्ब तीन करोड रकम अपचलन भएको भन्दै मुद्दा अगाडि बढाइएको बताएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीसँग पनि रुपन्देहीमा दुई दिनसम्म बयान लिइएको थियो ।  उनी पनि पोखरामा प्रहरी हिरासतमा रहेका छन् । यहाँ बयान लिएपछि उनलाई पोखरा नै पठाइएको थियो ।  

सुझावित समाचार