भारत हुँदै श्रम गन्तव्य जाने नेपालीलाई एनओसी नचाहिने

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

भारतीय विमानस्थल हुँदै श्रम गन्तव्य जाने नेपालीले दिल्ली दूतावासबाट ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिनुनपर्ने भएको छ । त्रिभुवन विमानस्थल मर्मतका लागि १० घण्टा बन्द हुनासाथ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भाडादर महँगो बनाएपछि नेपाली श्रमिकहरू सस्तो भाडादरको खोजीमा दिल्ली हुँदै श्रम गन्तव्य मुलुकतर्फ जान थालेका छन् ।

त्यस्ता श्रमिकलाई सहजीकरण गर्ने गरी एनओसीविनै श्रम गन्तव्य जाने व्यवस्था मिलाइएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । ‘वैदेशिक रोजगार विभागले जारी गरेको वैध वैदेशिक रोजगार अनुमति प्राप्त गरेका नेपाली नागरिकले यस दूतावासबाट कुनै पनि एनओसी प्राप्त गर्नुपर्ने आवश्यकताबाट मुक्त छन्,’ विज्ञप्तिमार्फत दूतावासले भनेको छ । त्यसैगरी अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान र सेन्जेन क्षेत्र (२९ युरोपेली देश)का लागि मान्य आवास कार्ड वा भिसा भएका नेपालीलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जनाएको छ ।

‘नेपाली कूटनीतिक–आधिकारिक–सेवा राहदानी प्राप्त गरेका र संयुक्त राष्ट्रसंघसँग आबद्धता भएका नागरिक र १६ वर्षमुनिका नाबालिगलाई पनि एनओसी आवश्यक पर्नेबाट छुट दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ । तर, भारतीय विमानस्थल प्रयोग गरी साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा भने एनओसी आवश्यक पर्नेछ । रुसबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा प्राप्त गरेका बाहेक रसिया जाने यात्रुहरूले पनि दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गरेर मात्र यात्रा गर्न दूतावासले सुझाएको छ ।

एनओसी चाहिने यात्रुले कम्तीमा एक हप्ताअघि इमेलमार्फत आवश्यक कागजात र एक हजार भारु दस्तुर बुझाउनुपर्ने प्रावधान रहेको दूतावासले जनाएको छ ।

See More On

सुझावित समाचार