भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयका उच्च अधिकारीहरूसहित निरीक्षणका लागि निर्माणस्थलमा पुगेका थिए ।
निरीक्षणपश्चात् उनले पूर्वाधार तथा विकास आयोजनाहरू निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए । काठमाडौं उपत्यकाको सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमा नै सक्न उनले निर्देशन दिएका हुन् । निरीक्षण टोलीमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत अधिकारीहरू सहभागी थिए ।
०७८ सालको फागुन १२ गतेदेखि ठेक्का लागी निर्माण सुरु भएको उक्त फ्लाई ओभर म्याद थपपछि ८ पुस ०८१ मित्र सम्पन्न गर्नुपर्नेछ । ३० मिटर स्पानको चार लेनको पुलसहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ । फ्लाई ओभरअन्तर्गत पुल निर्माणको कार्य ९८ प्रतिशत सकिएको कम्पनीले जनाएको छ । त्यस्तै, पहुँच सडकलगायत अन्य निर्माण कार्यसमेत अन्तिम चरणमा रहेको बताएको छ ।