प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रको विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन्। उनले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताए। विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी)को कुनै कुरा वा चर्चा नै नभएको उल्लेख गरे ।
संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उनले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए। सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नजोडिएको भए हेर्दै जाऊँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौं फर्किएका थिए ।