कारागारमा प्रतिबन्धित मोबाइल, मदिरा, लागुऔषधजस्ता वस्तुहरू कारागार आन्तरिक प्रशासनको मिलेमतोमा कैदीबन्दीहरूलाई आपूर्ति हुनेसहित कारागारको पसलमा बढी रकम असुल्ने गरेको सार्वजनिक भएपछि छानबिन समितिले सोमबारदेखि अनुसन्धान थालेको छ ।
इलाका प्रहरी कार्यालय, लहानका प्रमुखसमेत रहेका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा रहेको पाँच सदस्यीय छानबिन समितिले सोमबार कारागार पुगेर अनुसन्धान थालेको हो। छानबिन समितिको संयोजक सोतीका अनुसार सोमबार कारागारमा कैदीबन्दीहरू राखिएको ब्लकको स्थलगत निरीक्षण गरिएको र छानबिनको क्रममा क्रमशः आन्तरिक प्रशासन, कैदीबन्दीहरू, कारागार कर्मचारीसँग सोधपुछलगायत गरिनेछ। समितिले गरेको छानबिनको आधारमा प्रतिवेदन तयार गरी आगामी १० मंसिरमा जिल्ला सुरक्षा समितिलाई बुझाइने उनले बताए ।
कारागारमा प्रतिबन्धित वस्तुहरू आन्तरिक प्रशासनको सेटिङमा कैदीबन्दीहरूसम्म सहजै पुग्ने र त्यसबापत कैदीबन्दीहरूबाट मोटो रकम उठाइने गरेको सार्वजनिक भएको थियो । त्यसको तीन दिनपछि २४ कात्तिकमा सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले प्रहरी नायब उपरीक्षक सोतीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, कारागारका निमित्त जेलर र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकसमेत रहेको पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रशासन कार्यालय सिराहाका सूचना अधिकारीसमेत रहेका प्रशासकीय अधिकृत रवीन्द्रकुमार महतले जानकारी दिए ।
उनका अनुसार सुरक्षा समितिको बैठकको निर्णयको विषयमा आइतबार पत्राचार गरी सोमबारदेखि छानबिन थालिएको हो । छानबिन समितिले गरेको अनुसन्धानमा दोषी भेटिए प्रतिवेदनमार्फत कानुनी कारबाहीको समेत सिफारिस गरिने उनले बताए ।
कारागारमा ५१८ कैदी बन्दी
एक सय ३५ पुरुष र १५ महिला कैदी बन्दी राख्ने क्षमता रहेको सिराहा कारगारमा २१७ कैदी र २९६ बन्दी तथा पाँच आश्रित बालबालिका गरी ५१८ जना रहेको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासनका अनुसार त्यसमा आश्रित बालबालिकासहित ४९४ पुरुष र २४ महिला छन् । सिराहा कारागारका निमित्त जेलर दिनेश भट्टराईका अनुसार ५१८ कैदी बन्दीका लागि आन्तरिक प्रशासनका लागि महिला कैदीबन्दीतर्फसहित १९ जना नाइके र ६१ जना सहनाइके छन् ।