विश्व चर्चित इंग्लिस प्रिमियर लिग (इपिएल)मा अहिले ११ खेल पूरा भएको छ । लिगको साइकल आधा पनि सकेको छैन । यही विन्दुबाटै इपिएलको उपाधि दौडमा रोमाञ्चकतातर्फ मोडिएको छ । इपिएलमा अहिले दुई टोली अगाडि छन् । लिभरपुल र साबिक विजेता म्यानचेस्टर सिटी ट्रफी जित्ने अभियानमा अन्य क्लबका तुलना अग्र स्थानमा छन् । आर्सनल र चेल्सीबिचको आइतबार राति १–१ को बराबरीले लिभरपुल र सिटीले फाइदा उठाए । हुन त साबिक विजेता सिटी ब्राइटनसँग अप्रत्याशित रूपमा पराजित हुँदा शीर्ष स्थानमा लिभरपुलले पाँच अंकको अग्रता लिएको हो । लिभरपुलले तेस्रो देखि छैटौँ स्थानमा रहेका क्लबमाथि स्पष्ट नौ अंकको अग्रता बनाएको छ ।
इपिएलको डेटाअनुसार अहिले आर्सनलको जित्ने ३.५ प्रतिशत र चेल्सीको ०.२ सम्भावना प्रतिशत छ । फुटबल पण्डित तथा आर्सनलका पूर्वस्ट्राइकर थिओ वालकोटले तत्कालै उपाधि जित्ने क्लबको भविष्यवाणी गर्नु गलत हुने बताएका छन् ।
लिभरपुलको सम्भावना कति ?
इपिएलको इतिहासमा ११ खेलपछि शीर्ष स्थानमा पाँच अंकको अग्रता लिने लिभरपुल पाँचौँ क्लब हो । सन् २०१९–२० को सिजनमा लिभरपुलले सुरुवाती पाँच खेल जित्दै उपाधि हात पारेको छ । जर्गेन क्लोपको बार्हिगमनपछि लिभरपुलले ६ वर्षअघिको सफतला दोहोर्याउन सक्छ वा सक्दैन भन्ने प्रश्न छ । क्लोप बाहिरिए पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
फुटबल पण्डितहरूले लिभरपुलले ट्रफी जित्ने सम्भावना ५८.३ प्रतिशत राखेका छन् । आर्सनलका पूर्वखेलाडी वालकोटले लिभरपुलको उपाधि जित्ने सम्भावना रहेको दाबी गरेका छन् । ‘यही प्रदर्शन अन्तिमसम्म जारी राख्दा एन्डफिल्डमा इपिएल उपाधि पक्कै भित्रिनेछ,’ उनले भने, ‘घरेलु मैदानमा उनीहरू कमजोर देखिएका छन्, तर अवे खेलमा उत्कृष्ट छन् ।’ लिभरपुलका पूर्वमिडफिल्डर जेमिए राडनापले डिसेम्बरपछिको प्रदर्शनले शीर्ष दुई क्लबको छिनोफानो हुने बताए । अझ १ डिसेम्बरमा लिभरपुल र म्यानचेस्टर सिटीबिच एन्डफिल्डमा खेल हुनेछ । यस खेलले पनि उपाधि दाबेदार क्लबको खाका बन्ने उनले बताए ।
आर्सनल बाहिरिएको हो ?
पछिल्लो दुई संस्करणमा आर्सनलले सिटीलाई निकै चुनौती दियो । आर्सनल लिगको अन्तिम चरणमा चुक्दा सिटीले उपाधि रक्षा गर्यो । यसपटक आर्सनलका समर्थकले दुई वर्षअघिको प्रदर्शन अपेक्षा गरेका थिए । समर्थकको चाहनाअनुरूप आर्सनलले प्रदर्शन गर्न सकेको छैन । सन् २०२१–२२ को सिजनमा पहिलो चरणको खेल समाप्तिमा आर्सनलले नौ अंकको अग्रता लिएको थियो । सिजन समाप्तिसम्म आर्सनल शीर्ष स्थानमा धेरै पछि पर्यो । ‘गत सिजनमा आर्सनलले अन्तिम समयमा गोल गर्न सकेन, उपाधि जित्न नसक्नुको कारण पनि यही थियो,’ वालकोटले भने, ‘उपाधि उचाल्न निरन्तर रूपमा विपक्षी पोस्टमा गर्नुपर्छ, जुन पक्षमा आर्सनल चुकेको देखिन्थ्यो ।’ कप्तान मार्टिन ओडेगार्डले अझै पनि आर्सनलको उपाधि जित्ने सपना समाप्त नभएको जनाए ।
ओरालो लाग्दै सिटी
यसपटक म्यानचेस्टर सिटीको खेल गत दुई सिजनको जस्तो छैन । पेप ग्वाडिओलाले प्रशिक्षक बनेयता सिटी पहिलोपटक सबै खाले युरोपियन प्रतियोगितामा चार खेलमा पराजित भयो । धेरैजसोले पेपको युग समाप्त भएको जनाएका छन् । यद्यपि, उनी जहाँजहाँ आबद्ध भए, त्यस क्लबलाई युरोपियन तथा क्लब च्याम्पियन बनाएका छन् । यसअघि बार्सिलोना र बायर्न म्युनिखलाई पनि युरोपियन च्याम्पियन्स तथा घरेलु लिग उपाधि दिलाएका थिए । इपिएलको डेटाअनुसार सिटीको उपाधि रक्षा गर्ने सम्भावना ३८ प्रतिशत रहेको छ । सिजनअगाडि सिटीको सम्भावना ८२ प्रतिशत रहेको थियो ।