आइसिसीले ठोस निर्णय नगर्दासम्म भारतले राखेको तटस्थ भूमिमा खेल्ने प्रस्ताव पाकिस्तानले अस्वीकार गर्ने
भारतले आइसिसी च्याम्पियन्स ट्रफीअन्तर्गत आफ्ना सबै खेल हाइब्रिड मोडलअनुसार दुबईमा सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)लाई आग्रह गरेको छ । गत शुक्रबार भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी खेल्न नजाने निर्णय गरेको थियो । भारतले एसिसी कपमा जस्तै च्याम्पियन्स ट्रफीका खेल पनि तटस्थ भूमिमा गर्न आग्रह गरेको हो । आयोजक पाकिस्ताले अहिलेसम्म भारतबाट हाइब्रिड मोडलको प्रस्ताव नआएको जानकारी दिएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले आइतबार लिखित रूपमा भारतबाट पत्र नपठाएको जनाएको छ । ‘अहिलेसम्म पिसिबीले आधिकारिक रूपमा पत्र पाएको छैन, भारतले आइसिसीलाई मात्र जानकारी दिएको छ,’ पिसिबीले भनेको छ, ‘जहाँसम्म हाइब्रिड मोडलको चर्चा छ, यसमा हामी तत्काल केही प्रतिक्रिया दिँदैनौँ ।’ च्याम्पियन्स ट्रफीको तालिकाअनुसार आगामी वर्षको १९ फेब्रुअरीदेखि ९ मार्चसम्म पाकिस्तानका कराँची, लाहोर र रावलपिन्डीमा खेलहरू हुनेछन् ।
पिसिबीका प्रमुख मोहसिन नकबीले दुईपक्षीय वार्तापछि निर्णय हुने बताए । ‘भारत नआउने निर्णय एकल हो, यस सम्बन्धमा आइसिसीले नै वार्ता गर्नुपर्छ,’ मोहसिनले भने, ‘भारतबाहेक अन्य सबै सहभागी राष्ट्रका क्रिकेट बोर्डले सुरक्षा व्यवस्था सम्बन्धमा सकारात्मक छन् ।’ पाकिस्तानले सहभागी राष्ट्रका खेलाडी, अफिसियल तथा समर्थकका निमित्त चुस्त सुरक्षा व्यवस्था प्रदान गर्ने उनले बताए । ‘सुरक्षा व्यवस्था पहिलो प्राथमकिता हो, यस पक्षमा सबै सुरक्षा संयन्त्रसँग वार्ता गरेका छौँ, सुरक्षा निकायले पाहुनालाई प्रतियोगिता नसकिँदासम्म सुरक्षा दिने वाचा गरेका छन् ।’
काउन्ट डाउन सर्यो
आइसिसीले ११ नोभेम्बरमा च्याम्पियन्स ट्रफीको काउन्ट डाउन सुरु हुने भनेको थियो । तर, विशेष परस्थितिका कारण आइसिसीले काउन्ट डाउन नगर्ने जनाएको छ । ‘अहिले भारत नआउने भएपछि परिस्थिति फरक भएको छ, सबै राष्ट्रले सहभागिता जनाउने निश्चित गरेपछि दिन गणना हुनेछ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘११ नोभेम्बरमा सय दिनको गणना भनिएको हो, तर विशेष कारणले यसलाई रोकेका छौँ ।’
अर्कोतिर एसिसीले पनि पाकिस्तान र भारतको क्रिकेट बोर्डबिच वार्ता हुनुपर्ने जनाएको छ । विश्वकपपछि महत्वपूर्ण मानिएको च्याम्पियन्स ट्रफीमा भारतको पछिल्लो निर्णयले खल्लो बनाएको एसिसीको भनाइ छ । ‘पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी उत्कृष्ट बनाउन भारतको उपस्थिति अनिवार्य छ, भारत नै पाकिस्तान नजाने भनेपछि यसले खल्लो बनाएको छ,’ एसिसीले जनाएको छ । एसिसीका अनुसार अर्को साता लाहोरमा पिसिबी र आइसिसीका पदाधिकारीबिच छलफल हुनेछ ।
लिखित पत्र माग
पिसिबीका अध्यक्ष मोसिन नाभीले लिखित रूपमा भारतले पाकिस्तान नआउने कारण दिनुपर्ने माग राखेका छन् । ‘हामीले सबै सहभागीलाई सुरक्षा व्यवस्था प्रदान गर्ने भनेका छौँ, भारतले यहाँको सुरक्षाप्रति शंका गरेको छ, बिसिसिआईले स्पष्ट रूपमा हामीलाई पत्र पठाएको छैन, उनीहरूले पत्र पठाउनुपर्छ,’ नाभीले भने, ‘बिसिसिआईले आइसिसीमा उठाएका सबै प्रश्नको उत्तर दिन तयार छौँ ।’ खेल तालिकाअनुसार भारतले २० फेब्रुअरीमा बंगलादेश, २३ फेब्रुअरीमा न्युजिल्यान्ड र १ मार्चमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।