एकपछि अर्को गर्दै जनहितविपरीत जाँदै छ ओली सरकार : माओवादी केन्द्र

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको वर्तमान सरकारले एकपछि अर्को गर्दै जनहितविपरीतका काम गरिरहेको बताएको छ। सोमबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले पहिलो र दोस्रो ठुलो पार्टी मिलेर अधिनायकवादतर्फ जान लागेको आफूहरूको आशंका पुष्टि भएको बताए।

व्यवसायी मीनबहादुर गुरुङसँग ‘जग्गा दान’ लिएको विषयतर्फ इंगित गर्दै सापकोटाले भने, ‘कीर्तिपुरको जग्गाको कुरा गर्नुस् । यति धेरै लज्जास्पद स्थिति । ट्रान्सपरेन्सी इन्टरनेसनलले त यो सरासर भ्रष्टाचारलाई पृष्ठपोषण गर्ने भनेर वक्तव्य नै निकालेको छ। अदालतले अन्तरिम आदेश मात्रै दिएन, प्रथम दृष्टिमै बेठिक छ भन्यो।’

माओवादी नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि गरेका कामहरू वर्तमान सरकारले एक–एक गरी उल्ट्याएको उनको आरोप छ।

‘तपाईं हामीले स्वतः बुझ्ने कुरा के भने राजनीतिक पार्टीहरू जनताका सदभाव र पार्टीका नेता कार्यकर्ताको समर्थनमा चल्ने हो। जसको मुद्दा अहिले उच्च अदालतबाट दोषी ठहरिसकेको छ, सर्वोच्च अदालतमा मुद्दा छ, त्यस्तो व्यक्तिबाट फेरि जग्गा लिनु भनेको सरासर सुशासनको विरुद्ध छ। भ्रष्टाचारलाई प्रोत्साहन दिने कुरा हो,’ उनले भने।
 

सुझावित समाचार