सुजन खत्री ६ वर्षकै हुँदा उनका बाबु पदमबहादुर बेपत्ता भएका थिए । उनी अहिले १६ वर्षका भए । छोरा सुशील खत्री र छोरी सुशीलाले बिहे गरिसके । पदमले तीनै सन्तान र परिवारको खुसीका लागि जीवनको ऊर्जा र उमेर परदेशमा बिताए । तर, खुसी देख्ने बेला घर भएनन् । कान्छो छोरा सुजन बुबाको अनुहारको अनुमान मात्रै गर्छन् । उनले बाबुको माया र स्पर्शको अनुभूति नै गर्न पाएनन् । ‘मेलापर्व र अप्ठ्यारो अवस्थामा बाबाको सम्झना धेरै आउँछ । अनुहारको मात्रै याद गर्छु,’ उनले भने, ‘प्रतीक्षामा दशक बिते ।’
मुसिकोट नगरपालिका– ८ वामी मैदानका पदम खत्री ०७१ देखि बेपत्ता छन् । सोही वर्षको १६ पुसको बिहान घरबाट हिँडेका खत्री अहिलेसम्म घर फर्किएका छैनन् । अझै पनि परिवार उनलाई कुरिरहेको छ । श्रीमती श्यामकुमारी खत्रीका अनुसार पदमबहादुरले घर छोड्नुपर्ने कुनै कारण थिएन । घर छाडेका तीन दिनपछि तनहुँ पुगेको खबरसम्म परिवारलाई आयो । तर, पदमबहादुर तनहुँबाट कता पुगे कसैले देखेनन् । सबै ठाउँ र आफन्तकहाँ खोजी गरे पनि पत्ता नलागेको श्यामकुमारीले बताइन् ।
घरको मूली मान्छे छैनन् । ठुलो छोरा र छोरीले बिहेदान पनि गरे । उनको आफ्नै उमेर पनि पकडमा छैन । त्यसैले पदमबहादुरको यादले श्यामकुमारीलाई पिरोल्न थालेको छ । ‘६ वर्षको छोरा १६ मा लाग्योे । छोराछोरीले बिहे गरे, तर श्रीमान् अहिलेसम्म फर्किनुभएन,’ उनले भनिन्, ‘लास नदेखेकाले जीवनभर आस रहिरह्यो ।’
परिवारका अनुसार पदमबहादुरले भारतमा मजदुरी गर्थे । वैदेशिक रोजगारीका लागि हल्यान्ड र जापान पनि गए । उमेर छिप्पिँदै गएपछि स्वदेशमै उद्यमको खोजीमा थिए । आफूले गाउँघरमै दुःख–सुख गर्न आग्रह गरे पनि श्रीमान्ले जागिर नै चाहिरहेको खत्रीले सुनाइन् । बेपत्ता भएका वर्षौँसम्म पनि केही मान्छे फर्किएर घर आएको देखे जानेपछि अहिले हारगुहार सुरु गरेको उनी बताउँछिन् ।
पदमकी बहिनी सीता रायमाझीले फेला पार्ने वा देखेजानेकालाई परिवारसँग सम्पर्क गराइदिन आग्रह गरिन् । उनले दाइले घर छाडेको धेरै वर्ष भएको, तर अहिले छोराछोरी ठुला भएकाले पछिल्लो समय खोजिरहेको बताइन् ।