सहकारी ठगी प्रकरण : लामिछानेलाई चौथोपटक म्याद थपका लागि अदालत लगियाे

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिएकाे छ ।

लामिछानेलाई प्रहरीले चौथोपटक म्याद थपका लागि अदालत लगेको हो । प्रहरीले लमिछानेलाई २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएको थियो । त्यसपछि ४ गते पहिलोपटक ६ दिन, दोस्रोपटक ८ कात्तिकमा सात दिन र तेस्रोपटक २० कात्तिकमा १० दिन म्याद थप गरेको थियो ।

लामिछानेसँगै प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी र अन्य दुईजनालाई समेत म्याद थपका लागि आजै अदालतमा पेस गर्दै छ । । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई चौथो र जोशीलाई छौटाैँपटक म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ ।  

जोशीलाई प्रहरीले ६ असोजमा काठमाडाैंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । जोशीलाई यसअघि पहिलोपटक पाँच, दोस्रोपटक सात, तेस्रोपटक २०, चौथोपटक सात र पाँचौँपटक १० दिन म्याद थप गरिएको थियो ।

लामिछाने र जोशीसँगै प्रहरीले गुल्मी जिल्ला मुसिकोट नगरपालिका– ४ घर भई हाल ललितपुर महानगरपालिका– १५ खुमलटार बस्ने वर्ष ३२ की लीला पछाईसँगै नेचर हर्ब्स इन्टरनेसनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं सेयरधनी तनहुँस्थित भानु नगरपालिका- ८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई प्रहरीले म्याद थपका लागि अदालत लैजाने लागेको हो ।

पछाईलाई १५ असोजमा प्रहरीले पक्राउ गरेको थियो । सहकारीबाट गैरकानुनी रूपमा गितेन्द्रबाबु राई (जिबी) सँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चल–अचल सम्पत्ति खरिद गर्ने र सेयर कारोबारमा लगानी गरेको भेटिएपछि प्रहरीले पछाईलाई पक्राउ गरेको थियो । खनाललाई प्रहरीले ९ कात्तिकमा काठमाडौं महानगरपालिका– ३ पानीपोखरीबाट पक्राउ गरेको थियो ।

संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई (जिबी), पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो ।

समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयले ६ असोजमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरेको थियो । सोही निर्देशनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पोखराको सूर्यदर्शन, बुटबलकाे सुप्रिमसहित पाँच सहकारीबाट ६५ करोड रुपैयाँ अवैध रूपमा गोर्खा मिडियामा आएको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले कारबाही सिफारिस गरेका चारमध्ये जिबी फरार छन् भने अन्य तीनजना प्रहरी थुनामा छन् । 

सुझावित समाचार