१२ वर्ष राष्ट्रिय टोलीबाट खेलेका पूर्वस्पिनर शक्ति गौचनले यू–१९ राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका पाएसँगै उनको दोस्रो इनिङ्स सुरु भएको छ । खेलाडीका रूपमा उचाइ लिएका शक्तिलाई नयाँ भूमिकामा पनि सफल भएर देखाउनुपर्ने चुनौती छ ।
आफ्नो जादुमयी प्रतिभामार्फत नेपालको क्रिकेट विकास र अन्तर्राष्ट्रिय पहिचान दिलाएका चर्चित स्पिनर शक्ति गौचन प्रतिभा हस्तान्तरणको भूमिकामा आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शक्तिलाई नेपाल यू–१९ टिमको मुख्य प्रशिक्षक बनाएको छ । खेलाडीपछि उनले पहिलोपटक राष्ट्रिय टोली हेर्ने जिम्मेवारी पाएका हुन् ।
सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेलेपछि अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए शक्तिले निजीस्तरबाट खेलाडी उत्पादन र भौतिक पूर्वाधार निर्माणमा जोड दिइरहेका थिए । ठिक यही वेला उनलाई दोस्रो इनिङ्स सुरु गर्ने महत्वपूर्ण अवसर मिलेको छ । र, खेलाडीका रूपमा जस्तै प्रशिक्षकमा पनि सफल भएर देखाउनुपर्ने चुनौती थपिएको छ । ‘राष्ट्रिय टिम बनाउने खुड्किलो भनेको उमेर समूह हो । त्यसमा हामीले ध्यान दिनुपर्छ । त्यो जिम्मेवारी पाउनु मेरा लागि ठुलो उपलब्धि हो,’ क्रिकेटको विकासका लागि भौतिक संरचनासँगै नियमित खेल प्रतियोगिता जरुरी रहेको ठान्ने शक्तिले भने ।
अहिले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने जिम्मेवारी पाएका ४० वर्षका शक्तिले यो कर्मचाहिँ पहिलादेखि नै सुरु गरेका थिए । खेल्न छाडे पनि प्रशिक्षणमा थिए । आफ्नै ‘स्टार क्रिकेट एकेडेमी’ खोलेका थिए । आफैँले सिकेको खुकुरी लुम्बिनी क्लबबाट पनि खेलाडीलाई प्रशिक्षण दिए ।
उनले थुप्रै क्षमतावान् खेलाडी उत्पादन गरेर नेपाली क्रिकेटलाई दिएका छन् । कुशल मल्ल र सुशान भारीले राष्ट्रिय टिमबाटै खेलिसक्दा निर्मल थापा, सौरभ खनालले यू–१९ टिमबाट खेलिसके । देवेन्द्र सुमरे उमेर समूहबाट खेलिरहेका छन् । अहिलेको टिममा सन्तोष यादव रहेका छन् । उमेर समूहको क्रिकेट विकासमा सम्बन्धित निकायले राम्रो योजना बनाए प्रतिवाशाली खेलाडी निकाल्न सकिने उनको विश्वास छ ।
शक्ति र पूर्वकप्तान पारस खड्का एउटै टोलीका खेलाडी भएर खेले । खड्का क्यानको सचिव हुँदा शक्तिले नेपाल यू–१९ टिमको मुख्य प्रशिक्षक पाएका छन् । यो संयोग मात्र होइन, खड्काकै पहलमा शक्तिले यो जिम्मा पाएका हुन् । शक्ति र पूर्वकप्तान खड्का सन् २०१४ मा नेपालले पहिलोपटक आइसिसी टी–२० विश्वकप खेल्दाका खेलाडी हुन् ।
नेपालले पहिलोपटक आइसिसी टी–२० विश्वकप खेल्दा शक्ति टोलीका मुख्य खेलाडी थिए । बंगलादेशको चाटोग्राममा हङकङविरुद्ध भएको पहिलो खेलमै तीन विकेट लिए । विकेट लिएपछि मैदानमा दौडिएर मनाएको खुसियाली निकै चर्चित थियो । एसोसिएट राष्ट्रबाट विश्वकपमा सहभागी भएको नेपाल पहिलो खेलमै कीर्तिमान ८० रनको जित निकाल्न सफल भयो । दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित हुँदा शक्ति विकेटविहीन भए । तेस्रो खेलमा पुनः अफगानिस्तानसँग दुई विकेट लिएर फेरि सनसनी बने । नेपाल ९ रनले विजयी भयो । शक्तिले समग्रमा पाँच विकेट लिएको प्रतियोगितामा नेटरनरेटले आयोजक बंगलादेशसँग पछि पर्दा नेपालले फाइनल चरणमा स्थान बनाउन सकेन ।
रुपन्देहीमा जन्मिएका ४० वर्षीय पूर्वखेलाडी शक्तिले पहिलोपटक राष्ट्रिय टोली हेर्ने जिम्मेवारी पाएका हुन् । यो अवसर जुराउने उनै पूर्वकप्तान खड्का हुन् । पारसले नै शक्तिलाई जिम्मेवारी दिएका छन् । हाल पारस क्यानका सचिव छन् । ‘त्यसवेला पनि पारस, विनोद भण्डारी, शरद भेसवाकर र मलगायत अन्य खेलाडीले पहिलोपटक विश्वकप खेल्यौँ । त्यही विश्वकपले नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पुर्यायो,’ प्रशिक्षक भएपछि शक्तिले भने, ‘अब यो क्रम रोकिनु हुँदैन । हामीले नै क्रिकेटलाई माथिल्लो स्तरमा पुर्याउने हो । मात्र भूमिका फरक हुन सक्छ ।’
शक्तिले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा पनि गरिसकेका छन् । ५० ओभरको खेलका लागि उपकप्तानमा अर्जुन कुमाल छन् । शक्तिले प्रशिक्षक चाँडै सुरु गर्ने र सुखद नतिजा ल्याउनमा ध्यान दिने बताए । ‘क्यानले आज मात्रै जिम्मेवारी दिएको छ । खेलाडीसँग परिचित नै छु,’ उनले भने, ‘हाम्रो लक्ष्य सुखद नतिजा ल्याउने हो । त्यसका लागि अभ्यासमा ध्यान दिन्छौँ ।’
टोलीमा हेमन्त र अर्जुनसँगै आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अली र रञ्जित कुमार छन् ।
‘बल्ल जिम्मेवारी पाएको छु, प्रशिक्षण चाँडै सुरु गर्छाै । नतिजा सुखद ल्याउने योजनासाथ तयारीमा लाग्छौँ,’ नेपाल टी–२० विश्वकप खेल्दा र आइसिसीबाट एकदिवसीय राष्ट्रको मान्यता पाउँदाका साक्षी शक्तिले भने ।
नेपालको पहिलो खेल १४ मंसिरमा श्रीलंकासँग
एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने यू–१९ एसिया कप १४ देखि २३ मंसिरसम्म हुँदै छ । त्यसैका लागि क्यानले शक्तिलाई जिम्मेवारी सुम्पिएको हो । शक्तिले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा पनि गरिसकेका छन् । १४ मंसिरमा नेपालले प्रतियोगिताको पहिलो खेलमै टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दै छ । दोस्रो खेल बंगलादेशसँग १६ मंसिरमा र तेस्रो खेल १८ मंसिरमा अफगानिस्तानसँग हुनेछ ।
प्रतियोगितामा एसियाका आठ देशले सहभागिता जनाउँदै छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूह ‘बी’मा नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताका लागि एसियाका पाँच टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका हुन् । गत अक्टोबरमा भएको प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।