छत्रपति शिवाजी भारतमा निकै चर्चित सम्राट् थिए । उनी आफ्नो शासनकालमा न्याय र सुशासनका लागि विख्यात थिए । उनी आफू पनि अनुशासित थिए र आफ्ना कर्मचारीदेखि जनतासम्म सबै अनुशासित होऊन् भन्ने चाहन्थे ।
एकपटक उनी कामविशेषले कतै जाँदै गर्दा आफ्नै राज्यको कुनै किल्लाबाहिर पुग्दा रात पर्यो । विश्रामका लागि उपयुक्त स्थल कतै नभेट्दा उनले सोही किल्लामा रात बिताउने सोच बनाए । उनी किल्लाबाहिर पुगे । तर, रात परिसकेको हुनाले किल्लाको ढोका बन्द भइसकेको थियो । उनले द्वारपाललाई आवाज दिएर किल्ला खोल्ने आदेश दिए । तर, द्वारपालले सुन्यानसुन्यै गरेर किल्लाको ढोका खोल्दै खोलेनन् । केही गरे पनि किल्लाको ढोका खुलाउन नसकेपछि शिवाजी महाराजले किल्लाबाहिरै रात बिताउनुपर्यो । जब बिहानको उज्यालो भयो, त्यसपछि मात्र द्वारपालले किल्लाको ढोका खोलिदिए । शिवाजीले द्वारपालसित प्रश्न गरे– के हिजो साँझ तिमीले मलाई चिनेनौ ? तिमीले त मेरो आदेशसमेत पालना गरेनौ ? तिमीले यस्तो किन गर्यौ ?
द्वारपालले सहजतापूर्वक जवाफ दिए– महाराज, हजुरलाई नचिनेर ढोका नखोलेको होइन । अनि मैले हजुरको आदेश पालना नगरेको पनि होइन । मैले त हजुरकै आदेश पालना गरेको हुँ महाराज ! हजुरले नै सूर्यास्तपछि कुनै पनि किल्लाको ढोका कुनै पनि मूल्यमा नखोल्नू भन्ने आदेश दिनुभएको थियो, होइन र ? हजुरको आदेश उल्लंघन गरेर म कसरी किल्लाको ढोका खोल्न सक्थेँ त ? अनि, हजुरको आदेश स्वयं हजुरले नै पालना गर्नुभएन भने जनताले के पालना गर्दा हुन् ? द्वारपालको निर्भीक जवाफबाट महाराज शिवाजी निकै खुसी भए । उनले ती सिपाहीलाई आफ्ना अंगरक्षक बनाए ।