एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर)लाई लिएर गरिएको रिपोर्टिङका आधारमा स्वास्थ्य खबरका पत्रकार धनबहादुर खड्का ’ग्लोबल एएमआर मिडिया अवार्ड २०२४’ बाट पुरस्कृत भएका छन्।
‘अलार्मिङ एमएमआरः २१ एन्टिबायोटिक रेसिस्टेन्ट वन पेसेन्ट’ शीर्षकमा नेपाल लाइभ टुडे र त्यसअघि स्वास्थ्य खबरमा प्रकाशित ’प्रभावहीन बन्दै एन्टिबायोटिक’बाट उक्त अवार्ड प्राप्त गरेका हुन्।
विश्वका ३० देशका मिडियाकर्मी र संस्थाहरूको संगठन ‘ग्लोबल एएमआर मिडिया अलाइन्स’ले पुरस्कार प्रदान गर्ने गरेको छ। विश्व स्वास्थ्य संगठनले ६ वटा क्षेत्र छुट्याएर पुरस्कारका लागि प्रकाशित समाचार माग गरेको थियो। हरेक क्षेत्रबाट प्रतिस्पर्धामा आएकामध्ये तीन उत्कृष्ट समाचारलाई छनोट गरिएको हो। छनोटका लागि एएमआरमा काम गरिरहेका विज्ञ, सरोकारवाला र हेल्थ तथा साइन्समा रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार सम्मिलित २२ जनाको जुरी कमिटी बनाइएको थियो। विश्वका ४३ देशबाट ४१३ वटा आवेदनबाट पुरस्कृतहरू छानिएका हुन्।
बिहीबार भएको चौथो वार्षिक ग्लोबल मिडिया फोरममा उक्त अवार्ड घोषणा गरिएको हो। दक्षिण–पूर्वी एसियाबाट खड्कासहित तीनजना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा बंगलादेशको ढाका ट्रिब्युनका पत्रकार नुरुल इस्लाम हसिब र भारतबाट प्रकाशित हुने इन्डियन एक्सप्रेसमा अनुराधा मास्क्रेनहस रहेका छन्।
सो पुरस्कारले आफ्नो हौसला बढेको पत्रकार खड्काले बताए। ‘एएमआरलाई विश्व स्वास्थ्य संगठनले विश्वका मुख्य १० स्वास्थ्य चुनौतीमा राखेको छ,’ उनी भन्छन्, ’त्यसैले यस विषयमा चासो बढेको हो। त्यही विषयमा लेखिएको समाचारले अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेकोमा हौसला बढेको छ।’