एक महिनामा सप्तरीबाट ६६ फरार प्रतिवादी पक्राउ

शनिबार, २४ कार्तिक, २०८१
डिजिटल संस्करण

सप्तरी प्रहरीले पछिल्लो एक महिनामा ६६ फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले एकमहिने कार्यसम्पादनबारे जानकारी दिन शनिबार गरेको पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले फरार रहेकाहरूमध्ये ६६ जनालाई नियन्त्रणमा लिएको बताए।

पक्राउ गरिएका प्रतिवादीहरूबाट चार वर्ष दुई महिना ११ दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको उनले बताए। फरार प्रतिवादी नियन्त्रणमा लिने क्रममा तीन लाख ३१ हजार ८ सय ६१ रुपैयाँ जरिवाना असुलउपर गरिएको एसपी खतिवडाले जानकारी दिए।

पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ४६ लाख ६९ हजार ६ सय ३५ रुपैयाँबराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ। एसपी खतिवडाका अनुसार भन्सार छलीमा लागेका १० जनालाई समेत नियन्त्रणमा लिइएको छ। 

छलीमा प्रयोगमा रहेको ७ वटा मोटरसाइकल, ७ साइकल, १ कार र १ सिटी रिक्सासमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

दसैँदेखि छठसम्मको अवधिमा ७४१ प्रहरी जनशक्ति परिचालन गरिएको र प्रहरी निरीक्षकहरूको नेतृत्वमा सुरक्षाकर्मी परिचालित गरिएको एसपी खतिवडाले पत्रकार सम्मेलनमा जानकारी गराए।

सुझावित समाचार