राष्ट्रिय स्वतन्त्र पार्टीले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको तयारीका लागि सातवटै प्रदेशमा केन्द्रीय प्रतिनिधि परिचालन गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिले सबै प्रदेशमा निर्वाचन परिचालनका लागि जिम्मेवारी तोकिएको संयोजक गणेश पराजुलीले जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशमा सचेतक निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकारलाई परिचालन गरिएको छ । लुम्बिनीमा केन्द्रीय सदस्य कुसुम महर्जन, कर्णालीमा केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिममा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई परिचालन गरिएको संयोजक पराजुलीले बताए ।
रास्वपाले स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन सञ्चालन गर्ने भएको छ । यसका लागि केन्द्रीय निर्वाचन संयोजन समितिले कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रारम्भिक निर्वाचनका लागि २२–२५ कात्तिकमा उम्मेदवारी दर्ताको समय छ । २७ गते उम्मेदवारसँग छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिनेछ । २८ गते मतदान हुनेछ भने २९ गते नतिजा प्रकाशनको कार्यतालिका छ । निर्वाचित उम्मेदवार नै उपनिर्वाचनको आधिकारिक उम्मेदवार हुने संयोजक पराजुलीले बताए ।