राजस्व र खर्च दुवैमा बागमती कमजोर

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकार चालू आर्थिक वर्षको तीन महिनामा अनुदान प्राप्ति र राजस्व संकलन तथा बजेट परिचालनमा कमजोर देखिएको छ । आव ०८१/८२ को पहिलो तीन महिनामा प्रदेश सरकारले जम्मा १०.६३ प्रतिशत आय गर्दा ६.८८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

चालू आवमा संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट र आन्तरिक राजस्व संकलनबाट ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले पहिलो तीन महिनामै न्यून आम्दानी गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त हुने समानीकरण, ससर्त, विशेष र समपूरक शीर्षकबाट १३.२३ प्रतिशत अर्थात् दुई अर्ब ६ करोड आठ लाख ५० हजार अनुदान प्राप्त भएको छ । प्रदेश सरकारले चालू आवमा संघीय सरकारबाट १५ अर्ब ५७ करोड ५६ लाख अनुदान प्राप्त गर्ने अनुमान गरेको थियो ।

यस्तै, प्रदेश सरकारले राजस्व बाँडफाँटबाट चालू आवमा २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेकोमा जम्मा १२.९५ प्रतिशत अर्थात् तीन अर्ब ८२ करोड ८५ लाख ५६ हजार रुपैयाँ मात्रै प्राप्त भएको छ । प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालू आवमा चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा यस अवधिमा १९.८० प्रतिशत अर्थात् ८९ करोड ८४ लाख दुई हजार रुपैयाँ प्राप्त भएको छ ।

यसैगरी, प्रदेश सरकारले बेरुजु तथा गत वर्षको नगद मौज्दातबाट १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा अहिलेसम्म जम्मा ०.४९ प्रतिशत अर्थात् सात करोड २९ लाख २८ हजार रुपैयाँ मात्रै प्राप्त गरेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको तीन महिनामा आम्दानीजस्तै खर्च पनि कमजोर देखिएको छ । प्रदेश सरकारकाले चालू आर्थिक वर्षको तीन महिनामा कुल विनियोजित बजेटको जम्मा ६.८८ प्रतिशत अर्थात् चार अर्ब ४४ करोड एक लाख २४ हजार ७८ रुपैयाँ खर्च गरेको छ ।

चालू आवका लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको प्रदेश सरकारले चालू आवको पहिलो तीन महिनामा प्रदेशका विभिन्न मन्त्रालय, कार्यालय, निकाय र आयोगका लागि विनियोजित बजेटको ६.८८ प्रतिशत मात्रै खर्च गरेको हो ।

मन्त्रालयका अनुसार यस अवधिमा विनियोजित बजेटको चालूको तुलनामा पुँजीगततर्फको बजेट कम प्रतिशत खर्च भएको छ । चालूतर्फ तीन अर्ब ३७ करोड ६१ लाख १७ हजार ४२ रुपैयाँ विनियोजन गरिएको १२.९३ प्रतिशत मात्रै खर्च भएको छ । यस्तै, पुँजीगततर्फ एक अर्ब ६ करोड ४० लाख सात हजार ३६ रुपैयाँ बजेट विनियोजन भएकोमा २८ प्रतिशत खर्च भएको छ । 

चालू आवका लागि वित्तीय व्यवस्था तथा सेयर लगानीका लागि एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म खर्च भएको छैन । 

See More On

सुझावित समाचार