सुर्खेतमा बिहीबार (भोलि) बृहत् सांगीतिक कार्यक्रम हुँदै छ । यही कात्तिक २२ गते दिउँसो १ बजे कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सिटी हलको प्रांगणमा बृहत् सांगीतिक कार्यक्रम गर्न लागिएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा बृहत् सांगीतिक कार्यक्रम गर्न लागिएको दोहोरी गीत प्रतिष्ठान सुर्खेतका अध्यक्ष कविराज गिरीले बताए ।
युवालय परियोजनामा जोडिएर युवाहरूले लिएका कक्षामा सिकेका नृत्य तथा संगीतहरू सबैसामु प्रस्तुत गर्न लागिएको युवालयकी सहयात्रा परियोजना संयोजक पूजा कार्कीले बताइन् ।
उनका अनुसार लोकसंस्कृति जगेर्ना गर्ने भनी चलिरहेको यस परियोजनाबाट कक्षा लिइरहेका युवाहरूले मारुनी, टप्पा, स्याउरे, कौडानृत्य प्रदर्शन गर्ने र संगीतको कक्षामा सिकेका पञ्चेबाजा, झ्याली, कर्नाल, सहनाई, दमाहा प्रस्तुत गर्ने तालिका रहेको छ । कार्यक्रमबाट युवाहरूले सिकेका कलाहरू आमनागरिकसामु प्रदर्शन गर्ने भएकाले यसबाट आत्मबल वृद्धि गर्न सकून् भन्ने लक्ष्य राखिएको कार्कीको भनाइ थियो ।