पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा छलफल

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण
पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा छलफल

भारतका ऊर्जामन्त्री प्रह्लाद वेंकटेस जोशीसँग भेटवार्ता गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का

भारतका जलशक्तिमन्त्री र नवीन एवं नवीकरणीय ऊर्जामन्त्रीसँग नेपालका ऊर्जामन्त्रीको भेटवार्ता

भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतका जलशक्तिमन्त्री सी आर पाटिल र नवीन एवं नवीकरणीय ऊर्जामन्त्री प्रह्लाद वेंकटेस जोशीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।  

मंगलबार भारतका जलशक्तिमन्त्री सी आर पाटिलसँग भएको भेटमा  पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपाल र भारतबिच बाढी तथा विपत् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक छिट्टै बोलाउन तथा पञ्चेश्वर आयोजनाको डिपिआरलाई अन्तिम रूप दिन भारतलाई अनुरोध गरेका थिए । 

भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सकारात्मक रहेको बताएका थिए । भेटमा सहभागी मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले पञ्चेश्वर अगाडि बढाउने विषयमा छलफल भएको बताए । 

यस्तै, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)का अध्यक्षसमेत रहेका भारतका नवीन एवं नवीकरणीय ऊर्जामन्त्री प्रह्लाद वेंकटेस जोशीसँगको भेटवार्तामा दुवै देशबिच भविष्यमा दिगो विकास, जलवायु परिवर्तन न्यूनीकरण, स्वच्छ ऊर्जा संक्रमणलगायतका विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको भेटमा सहभागी विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । 

भेटमा ऊर्जामन्त्री खड्काले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनले नेपालका लागि पहिचान गरेका सोलार रोडम्याप निर्माण, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्नेलगायतमा आइएसएसँग काम गर्न आफू आशावादी रहेको बताए । 

ऊर्जामन्त्री खड्काले भारतीय मन्त्रीसमक्ष बुढीगण्डकी जलविद्युत् परियोजनाको जलाशयको सतहमा एक हजार मेगावाटको फ्लोटिङ सोलार विकास गर्नका लागि आग्रह गरे । आइएसएका कार्यक्रमलाई अगाडि बढाउनका लागि आइएसए र नेपालबिच दुई देशीय साझेदारी सम्झौतामा चाँडै हस्ताक्षर गरेर अगाडि बढ्नुपर्ने मन्त्री खड्काको भनाइ थियो । 

भेटमा आइएसएका अध्यक्ष एवं भारतका नवीन एवं नवीकरणीय ऊर्जामन्त्री जोशीले नेपालमा सौर्य आयोजनालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) कोषबाट आर्थिक सहयोग गरिने बताए ।

सुझावित समाचार