सहकारी ठगी प्रकरण : लामिछाने र जोशीसहित चारजनालाई म्याद थपका लागि अदालत लगियो

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित चारजनालाई म्याद थपका लागि प्रहरीले कास्की जिल्ला अदालतमा पेस गरेको छ । म्याद थपका लागि अदालतका ६ नम्बर न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासमा बहससमेत सुरु भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई तेस्रो र जोशीलाई पाँचौँपटक म्याद थपका लागि अदालत लगिएको हो । प्रहरीले लमिछानेलाई २  कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएर ४ गते पहिलोपटक ६ दिन म्याद थप गरेको थियो भने ८ कात्तिकमा सात दिन म्याद थप गरेको थियो ।

जोशीलाई प्रहरीले ६ असोजमा काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । जोशीलाई यसअघि पहिलोपटक पाँच, दोस्रोपटक सात, तेस्रोपटक २० र चौथोपटक सात दिन म्याद थप गरिएको थियो ।

लामिछाने र जोशीसँगै प्रहरीले जिल्ला गुल्मी मुसिकोट नगरपालिका– ४ घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका– १५ खुमलटार बस्ने वर्ष ३२ की लीला पछाईसँगै नेचर हर्ब्स इन्टरनेसनल प्रालि र गोर्खा गुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं सेयरधनी तनहुँस्थित भानु नगरपालिका– ८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई प्रहरीले म्याद थपका लागि अदालत लगेको हो । 

पछाईलाई १५ असोजमा प्रहरीले पक्राउ गरेको थियो । सहकारीबाट गैरकानुनी रूपमा गितेन्द्रबाबु राई (जिबी)सँग मिलेमतो गरी तीन करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगी चल अचल सम्पत्ति खरिद गर्ने र सेयर कारोबारमा लगानी गरेको भेटिएपछि प्रहरीले पछाईलाई पक्राउ गरेको थियो । खनाललाई प्रहरीले ९ कात्तिकमा काठमाडौं महानगरपालिका– ३ पानीपोखरीबाट पक्राउ गरेको थियो ।

संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई (जिबी), पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयले ६ असोजमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरेको थियो । सोही निर्देशनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पोखराको सूर्यदर्शन, बुटबल सुप्रिमसहित पाँच सहकारीबाट ६५ करोड रुपैयाँ अवैध रूपमा गोर्खा मिडियामा आएको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले कारबाही सिफारिस गरेका चारमध्ये जिबी फरार छन् भने अन्य तीनजना प्रहरी थुनामा छन् । 

लामिछानेलाई रुपन्देही लैजाने तयारी
कास्की प्रहरीले मंगलबार म्याद थप भएमा लामिछानेलाई रुपन्देही पठाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । यसबारे कास्की प्रहरीले केही बताउन चाहेको छैन । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर खर्च भएको सम्बन्धमा बयानसँगै अनुसन्धानका लागि लामिछानेलाई लैजाने तयारी भएको हो । लामिछानेलाई रुपन्देही पठाइदिन रुपन्देही प्रहरीले कास्की प्रहरीलाई पत्राचारसमेत गरिसकेको बताइन्छ ।

आज म्याद थप भएमा बिहीबार लामिछानेलाई रुपन्देही पठाउने तयारी कास्की प्रहरीले गरेको बुझिएको छ । त्यसअघि ८ कात्तिकमा रुपन्देही जिल्ला अदालतले लामिछानेसँगै १२ जनाविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ । सुप्रिमको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडियामा गएको समितिको प्रतिवेदनमा उल्लेख छ । 

यसअघि जोशीलाई रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी बयानका लागि ५ गते रुपन्देही लगेर बयान लिएको थियो । बयान सकिएसँगै जोशीलाई ७ गते पोखरा ल्याइएको थियो । 

सुझावित समाचार