दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा सेवाप्रदायकको सेवा र गुणस्तरका सम्बन्धमा गुनासो आउने प्रवृत्ति बढ्दै गएको देखिएको छ । प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८०/८१ मा उपभोक्ताले दूरसञ्चार सेवासँग सम्बन्धित तीन सय पाँचवटा गुनासो गरेका छन् । जुन अघिल्लो आव ०७९/८० को तुलनामा ८.९३ प्रतिशतले बढी हो । उक्त आवमा दूरसञ्चार सेवासँग सम्बन्धित गुनासो दुई सय ८० वटा आएका थिए ।
भ्वाइसमा भन्दा इन्टरनेट सेवामा बढी गुनासो
दूरसञ्चार सेवाका उपभोक्ताले फोन (भ्वाइस)को भन्दा इन्टरनेटको गुणस्तरमा बढी गुनासो गर्न थालेका छन् । उपभोक्ताले फोन नलागेको वा नेटवर्क नभेटिएकोमा भन्दा बढी इन्टरनेट नचलेको तथा सुस्त चलेको भन्दै गुनासो गर्ने देखाएको हो । प्राधिकरणमा गत आर्थिक वर्ष ०८०/८१ मा उपभोक्ताले दूरसञ्चार सेवासँग सम्बन्धित तीन सय पाँचवटा गुनासो गरेका छन् । जसमध्ये भ्वाइससँग सम्बन्धित गुनासो १९.६५ प्रतिशत अर्थात् ६० वटा मात्रै रहेका छन् । इन्टरनेटसँग सम्बन्धित गुनासो भने ८०.३५ प्रतिशत अर्थात् दुई सय ४५ वटा रहेका छन् ।
प्रतिवेदनअनुसार उक्त आवमा इन्टरनेट सेवाअन्तर्गत सबैभन्दा बढी गुनासो इन्टरनेटको स्पिड र प्याकेजमा रहेको छ । इन्टरनेटको स्पिड घटबढ भएको, प्याकेज र ब्यान्डविथ नमिलेको भन्दै ७२ वटा गुनासो परेका हुन् । त्यस्तै, इन्टरनेट नचलेको भन्दै ५३ वटा, मर्मत समस्यामा १८ वटा, बिलिङ तथा क्षतिपूर्तिमा २० वटा, टोल फ्री नम्बरमा २० वटा र राउटरमा समस्या सम्बन्धमा १३ वटा गुनासो आएको प्राधिकरणले उल्लेख गरेको छ । इन्टरनेटसँग सम्बन्धित अन्य गुनासा ४९ वटा रहेका छन् ।
उक्त आवमा भ्वाइस सेवाअन्तर्गत सबैभन्दा बढी गुनासो नेटवर्कका सम्बन्धमा रहेको छ । नेटवर्क नआएको भन्दै प्राधिकरणमा १७ वटा गुनासो आाएका हुन् । त्यस्तै, बिलिङ एवं ब्यालेन्सका विषयमा १३ वटा, सिमकार्डमा चारवटा, डेटा प्याकेजमा नौवटा, नम्बर परिवर्तनमा दुईवटा र रोमिङका सम्बन्धमा दुईवटा गुनासो परेको प्राधिकरणले उल्लेख गरेको छ । भ्वाइससँग सम्बन्धित अन्य गुनासा १३ वटा रहेका छन् ।
प्राधिकरणका सूचना अधिकारी अर्जुन घिमिरेले आएका सबै गुनासो फस्र्योट भइसकेको बताए । ‘उपभोक्ताले सेवाप्रदायककोमै बढी गुनासो गर्छन्, त्यहाँबाट समस्या समाधान नभएपछि प्राधिकरणमा आउँछन्,’ उनले भने, ‘प्राधिकरणले सेवाप्रदायकलाई चिठी काटेर समस्या समाधानका लागि निर्देशन दिन्छ, त्यसरी पनि समस्या समाधान नभए प्राधिकरणमै बोलाएर छलफल र निर्देशन दिएर उपभोक्ताको गुनासो फस्र्योट गर्छौँ ।’ धेरैजसो समस्याको समाधान टोल फ्री नम्बर, सेवाप्रदायकका कार्यालय र प्रतिनिधिबाटै हुने भएकाले प्राधिकरणमा थोरै मात्र गुनासो आउने गरेको उनले बताए ।
सबैभन्दा बढी गुनासो क्लासिक टेकको सेवामा
प्राधिकरणका अनुसार गत आवमा क्लासिक टेकको सेवामा सबैभन्दा बढी ७२ वटा गुनासो आएका छन् । जुन कुल गुनासोको २४.१६ प्रतिशतबराबर हुन आउँछ । त्यस्तै, वल्र्डलिंक कम्युनिकेसनका विषयमा ६४ वटा, नेपाल टेलिकमका ३९ वटा, भायानेटका ३६ वटा, एनसेलका २२ वटा र डिस मिडिया सेवाका सम्बन्धमा २८ वटा गुनासो प्राधिकरणमा आएका हुन् । त्यस्तै, सुबिसुका ६ वटा, सिजी कम्युनिकेसनका आठवटा, टेकमाइन्ड नेटवर्कका आठवटा, वेबसर्फरका ६ वटा र सजिलो नेट प्रालिको सेवाका सम्बन्धमा दुईवटा गुनासो परेका हुन् ।