वीरगन्जका पोखरी छठ पर्वका लागि सिँगारियो

सोमबार, १९ कार्तिक, २०८१
डिजिटल संस्करण

यहाँका पोखरी तथा नदीघाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगन्ज महानगरभित्र मात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’जस्तै सिँगारिएको छ । प्रायःजसो यहाँका सर्वसाधारणले आफ्नो घरदैलोनजिकै रहेको पोखरी तथा छठघाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा रहेको छ । सोहीअनुसार यहाँका सर्वसाधारणले आ–आफ्नो घरनजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ तथा सजावट गरेर चिटिक्क पार्ने काम गरिरहेका छन् । 

वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह पनि वीरगन्ज महानगरभित्र मनाइने छठघाटहरूको नियमित रूपमा निरीक्षण गरिरहेका छन् । उनले छठ पर्वलाई भव्य र सभ्य ढंगले मनाउने गरी तयारी तीव्र पारिएको जानकारी दिए । वीरगन्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट गरेर छठ पर्व मनाइँदै छ । यीबाहेक अन्य स्थानमा पनि छठका लागि आ–आफ्नो ढंगले झकिझकाउ गर्ने काम भइरहेको छ ।

वीरगन्ज महानगरभित्र सजावट र झकिझकाउको हिसाबले भने घडीअर्वा पोखरीमा विशेष गर्ने गरिन्छ । छठपूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साह कानु घडीअर्वा पोखरीमा मनाइने छठ पर्वको झकिझकाउ सजावट हेर्नका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय सहरका पर्यटकहरूको पनि घुइँचो लाग्ने बताउँछन् ।

‘घडीअर्वा पोखरीमा छठ पर्वको सजावट हेर्नका लागि नेपालका काठमाडौं पोखरा, नारायणघाट, बुटवल, चितवनलगायत सबै सहरका सर्वसाधारणलाई चुलो निम्तोसहित आउनका लागि अनुरोध गर्दछु,’ उनले भने, ‘नेपालका मात्रै होइन, भारतको बिहार राज्य, उत्तर प्रदेशलगायतका ठाउँमा बसोवास गर्ने पनि यहाँको मनोरम दृश्य हेर्न आउने गर्छन् ।’ 

समितिका अध्यक्ष कानुले घडीअर्वा पोखरीमा मनाउने छठ पर्व सुरक्षा, सजावट र सप्तरंगी बत्तीको झिलिमिलीले पनि अवलोकनकर्ताको मन जित्ने दाबी गरे । ‘हामीले विगत २२ वर्षदेखि घडीअर्वा पोखरीमा छठी माताको पूजाअर्चना गर्दै आइरहेका छौँ,’ उनले भने, ‘हामीले छठपूजामा घडीअर्वा पोखरीको सजावटका लागि कुनै पनि प्रकारको सम्झौता गर्दैनौँ । हाम्रो झिलिमिली बत्ती, पण्डाललाई निकै आकर्षक ढंगले सिँगारिएको छ ।’ समितिका अनुसार पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी जगदीश टेन्टले पाएको छ । तराई–मधेशका महिलाले छठपूजा गर्नाले आफ्नो परिवार र सन्ततिको सुख समृद्धिको कामना गर्दै मनाउने गरिन्छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठ पर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

छठपूजा व्यवस्थापन समिति घडीअर्वा पोखरी सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानुनले घडीअर्वा पोखरीभित्रको सरसफाइलाई पनि तीव्र बनाएको जानकारी दिए। ‘पूजाअर्चना गर्दा पोखरीमा दियोबत्ती खसेर बसेका हुन्छन्,’ उनले भने, ‘पोखरीलाई शुद्ध र स्वच्छ बनाउन पनि सरसफाइको कार्यलाई निकै प्राथमिकता दिँदै आइरहेका छौँ ।’ वीरगन्ज महानगरले पनि घडीअर्वा पोखरीको वरपर डेंगुको संक्रमण बढ्न सक्ने भन्दै ‘सर्च एन्ड डिस्ट्रोय’ गर्ने पनि काम गरिसकेको छ ।

सुझावित समाचार