नेपालले आइएसएफ जिम्नासाइड समर गेम्समा तीन स्वर्ण, एक रजत र तीन कांस्यसहित सात पदक जितेको छ । बहराइनमा बुधबार सम्पन्न आइएसएफ जिम्नासाइडमा नेपालले पाँच खेलमा सहभागिता जनाउँदा बक्सिङ र तेक्वान्दोमा पदक हात पारेको हो । टेबुलटेनिस, ब्याडमिन्टन र पुरुष थ्री बाई थ्री बास्केटबलमा भने सहभागितामै सीमित बन्यो । नेपालले बक्सिङमा समान दुई स्वर्ण र कांस्य जितेको थियो । तेक्वान्दोका खेलाडीले राष्ट्रलाई समान एक स्वर्ण, रजत र कांस्य दिलाए ।
बक्सिङको पुरुष ८० केजीमुनि नोर्बु थेन्डुप लामा र महिला ५४ केजीमुनि स्वस्तिका तिरुवाले स्वर्ण जिते । दुवै खेलाडीका यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हुन् । बक्सिङकै पुरुष ४६ केजीमुनि रोहित जनाला र ८० केजीमुनि सूर्यान वैद्यले कांस्य हात पारे । बहराइनको मानामामा भएको प्रतिस्पर्धामा तेक्वान्दोमा उज्ज्वल वाग्लेले दोहोरो पदक जित्न सफल भए । नैकापस्थित ब्राइट फ्युचर माविमा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमुनि स्वर्ण र पुरुष एकल पुम्सेमा रजत जितेका हुन् । तेक्वान्दोकी निविता केसीले महिला एकल पुम्सेमा कांस्य जितिन् ।
नेपालबाट ३२ खेलाडी
प्रत्येक दुई वर्षको अन्तरमा हुने यू–१८ उमेर समूहको आइएसएफ जिम्नासाइडको २०औँ संस्करणमा नेपालबाट पाँच खेलमा ३२ खेलाडी सहभागी थिए । बक्सिङ र तेक्वान्दोमा समान पाँच खेलाडीले भाग लिएका थिए । टेबुलटेनिसमा ६, पुरुष थ्री बाई थ्रीको बास्केटबलमा चार टोलीमा समग्रमा १५ खेलाडी थिए । ब्याडमिन्टनमा एक खेलाडीले सहभागिता जनाएको संघले जनाएको छ । १९७४ मा जर्मनीदेखि सुरु भएको आइएसएफ जिम्नासाइडमा नेपालले फ्रान्सको नोरमन्डीमा भएको १९औँ संस्करणमा पहिलोपटक सहभागिता जनाएको थियो ।