राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेविरुद्ध पूर्वाग्रह र प्रतिशोध राखेको दोहोर्याउँदै सहकारी ठगीमा लामिछानेको कुनै संलग्नता नरहेको दाबी गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले भनेको छ, ‘सहकारीमा बचत रकम हिनामिना, अपचलन वा ठगी गर्न सक्ने भनेको केवल सहकारीका सञ्चालक, व्यवस्थापक, ठुला ऋणी र कर्मचारीको मिलेमतोमा मात्र हो। तर, रवि लामिछाने कुनै पनि सहकारीको सञ्चालक, व्यवस्थापक, ऋणी वा कर्मचारी नभएकाले सहकारीमा उहाँको पहुँच पुग्नै सक्दैन।’
कम्पनी र कम्पनीको दायित्वसम्बन्धी विश्वव्यापी सिद्धान्तअनुसार कम्पनीका निर्देशक, सेयरधारक, कर्मचारी र एजेन्टहरू अलगअलग कानुनी व्यक्ति मानिने उल्लेख गर्दै रास्वपाले गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा ल्याउने जिबी राई नै सजायको भागेदार हुने दाबी गरेको छ।
‘कम्पनीको साझेदार ठग, चोर, डाँका, ज्यानमारा हुँदा त्यसका आधारमा कम्पनीमा संलग्न सबै साझेदार अपराधी करार हुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीको सिद्धान्तअनुसार पनि जुन व्यक्तिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिई आफ्नो तर्फको ऋणस्वरूप गोर्खा मिडिया नेटवर्कमा दिने काम गर्यो सोही व्यक्तिले सजाय पाउने हो। सहकारीबाट पैसा ल्याउने काम जिबी राईले गरेको स्पष्ट रहेकाले उक्त अपचलनमा सजाय पाउने पनि राईले नै हो।’

