अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला फुटबल टोली : उपाधिका लागि १२औँपटक भिड्दै नेपाल

एन्फाले रोक्यो फाइनलको टिकट बिक्री

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला फुटबल टोली समग्रमा अन्तर्राष्ट्रिय प्रतियोगितामा १२औँपटक फाइनलमा खेल्ने तयारीमा छ । सातौँ दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ)मा लगातार दोस्रोपटक फाइनल स्थान पक्का गरेको नेपालले उपाधि भिडन्तमा साबिक विजेता बंगलादेशविरुद्ध बुधबार दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै छ । नेपालले आइतबार रोमाञ्चक सेमिफाइनलमा पाँचपटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । यसअघि साफ च्याम्पियनसिपमा नेपाल भारतसँग चारपटक फाइनलमा पराजित भएको थियो । दक्षिण एसियाली खेलकुद (साग)मा भारतले तीनपटक स्वर्णपदक भिडन्तमा हरायो । बंगलादेशसँग साफ महिला च्याम्पियनसिप, म्यानमारसँग हिरो महिला कप, जोर्डनसँग वाफ महिला च्याम्पियनसिप र उज्वेकिस्तानसँग नाजेज्दा कपको फाइनल खेल पनि गुमाएको थियो । नेपाल १२औँ फाइनल भिडन्तमा उपाधि जित्ने योजनामा छ । तथ्यांकमा नेपालले अहिलेसम्म खेलेका ११ अन्तर्राष्ट्रिय फुटबल फाइनलको नतिजा यस्तो छ । 

सन् २०१० : दक्षिण एसियाली खेलकुद (साग), भारतविरुद्ध ३–१ को हार
नेपालले सन् १९८६ मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । नेपालले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेल सन् २०१० मा खेलेको थियो । बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलोपटक खेल्यो । बंगबन्धु रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो । महिला टोलीको यो नै पहिलो फाइनल खेल थियो । 

सन् २०१० : साफ महिला च्याम्पियनसिप, भारतसँग १–० को हार
सन् २०१० मै नेपालले साफ महिला च्याम्पियनसिप खेल्यो । प्रतियोगिताको पहिलो संस्करणमा नेपाल भारतसँगै १–० ले पराजित भयो । सस्मिता मालिकले गोल गरेपछि नेपाल लगातार दोस्रोपटक फाइनलमा उपाधिबाट टाढा रह्यो । बंगलादेशमा भएको प्रतियोगितामा नेपालले चार खेलमा ३४ गोल गरेको थियो । फाइनलमा नेपालले गोल गर्न सकेन । समूह ‘बी’मा नेपालले अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० ले हराएको थियो । 

सन् २०१२ : साफ महिला च्याम्पियनसिप, भारतसँग ३–१ को हार 
दुई वर्षपछिको साफ च्याम्पियनसिपमा नेपाल पुनः उपाधि दाबेदारकै रूपमा उत्रियो । फेरि नेपाल भारतसँग ३–१ ले हा¥यो । श्रीलंकाको कोलम्बोस्थित सिआर मैदानमा भारतको जितमा सुप्रिया रौट्रे, बाला देवी र कमला देवीले गोल गरेका थिए । नेपालका लागि दीपा अधिकारीले एक गोल फर्काएकी थिइन् । सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३–० ले हराएको थियो । समूह चरणमा नेपालले पाकिस्तानलाई ८–०, माल्दिभ्सलाई ५–० र अफगानिस्तानलाई ७–१ ले हराएको थियो । 

सन् २०१४ : साफ महिला च्याम्पियनसिप, भारतसँग ६–० को हार
तेस्रो साफ च्याम्पियनसिपको फाइनलमा नेपाल सहजै पुग्यो । उपाधि भिडन्तमा नेपाल भारतसँग नराम्रोसँग पराजित भयो । भारतले यसपटक नेपालमाथि ६–० को सानदार जित निकाल्यो । पाकिस्तानको इस्लामाबादस्थित जिन्हा स्पोर्टस् रंगशालामा भएको फाइनलमा भारतका लागि बाला देवीले चार गोल गरेकी थिइन् । कमला देवी र पर्मेश्वरी देवीका नाममा एक–एक गोल रह्यो । नेपालले अन्य टोलीविरुद्ध गोलको वर्षा गरेको थियो । श्रीलंकाविरुद्ध सेमिफाइनलमा ५–० ले जित निकालेको नेपालले समूहमा भुटानलाई ८–०, पाकिस्तानलाई २–० र श्रीलंकाविरुद्ध ३–० को जित निकालेको थियो ।

सन् २०१६ : दक्षिण एसियाली खेलकुद (साग), भारतसँग ४–० को हार
भारतको गुवाहटी र सिलोङमा सम्पन्न भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल स्वर्ण भिडन्तमा भारतकै सिकार बन्यो । समग्रमा पाँचौँपटक भारतसँग फाइनलमा पराजित भयो । उपाधि भिडन्तमा भारत ४–० ले विजयी भयो । जवाहरलाल नेहरू रंगशालामा भारतलाई लगातार दोस्रो साग स्वर्ण पदक दिलाउन कमला देवीले दुई गोल गरिन् । बाला देवी र आशालता देवीको नाममा समान एक गोल रह्यो । नेपालको पुरुष टोलीले स्वर्ण जित्दा महिला टोली रजतमा सीमित भयो । समूह चरणमा भारतलाई गोलरहित बराबरी रोकेको नेपालले चार खेलमा १० गोल गरेको थियो ।

सन् २०१९ : हिरो महिला कप, म्यानमारसँग ३–१ को हार
लगातार पाँचपटक उपाधि भिडन्तमा भारतसँग पराजित भएको नेपाल पहिलोपटक दक्षिण एसिया क्षेत्रबाहिरको राष्ट्रसँग उपाधि भिडन्तमा पराजित भयो । सन् २०१९ मा भारतमा भएको हिरो महिला गोल्डकपमा नेपाल म्यानमारसँग ३–१ ले पराजित भयो । प्रतियोगितामा म्यानमार, इरान, भारत र नेपाल सहभागी थिए । भारतलाई पहिलोपटक हराएपछि नेपालले कालिंगा रंगशालामा भएको प्रतियोगिताको शीर्ष दुईभित्र स्थान बनाउँदै फाइनल स्थान सुरक्षित गरेको थियो । फाइनलमा म्यानमारलाई जित दिलाउन यी वउले दुई र विङ थिङ्नी तुनले एक गोल गरेका थिए । हरि खड्काको प्रशिक्षणमा रहेको नेपालका लागि एक मात्र गोल मञ्जलीकुमारी योञ्जनले गरिन् ।

सन् २०१९ : साफ महिला च्याम्पियनसिप, भारतसँग ३–१ को हार
सन् २०१९ मा साफ च्याम्पियनसिप नेपालमा आयोजना भयो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता विराटनगरमा गराएको थियो । साफ च्याम्पियनसिपमा नेपाल फेरि एकपटक भारतसँगै फाइनलमा स्तब्ध भयो । सहिद रंगशालामा भारतले पाँचौँपटक उपाधि जित्यो । फाइनलमा भारतलाई जिताउन दालिमा चिब्बर, ग्रेस डाङ्मे र अञ्जु तामाङले गोल गरेका थिए । नेपालका लागि पहिलो हाफमा सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिइन् ।

सन् २०१९ : नाजेज्दा कप, उज्वेकिस्तानसँग ३–२ को हार 
सन् २०१९ मा दक्षिण एसिया बाहिर खेल्दा नेपालले पहिलोपटक फाइलनमा स्थान बनायो । यसअघि नेपालले दक्षिण एसियामा भएको फुटबल प्रतियोगिताको सात फाइनल खेल गुमाएको थियो । किर्गिस्तानमा नाजेज्दा कपमा नेपालले पहिलो सहभागितामै अन्तिम दुई स्थान पक्का ग¥यो । तर, नेपाल फिफा वरीयतामा ६२ स्थानमाथि रहेको उज्वेकिस्तानसँग ३–२ ले पराजित भयो । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । प्रतियोगितामा किर्गिस्तान, उज्वेकिस्तान, ताजकिस्तान र नेपाल सहभागी थिए ।

सन् २०१९ : दक्षिण एसियाली खेलकुद (साग), भारतसँग २–० को हार
सन् २०१९ मा नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो । पोखरामा नवनिर्मित रंगशालामा महिला खेल आयोजना भयो । फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भयो । भारतको जितमा दुवै गोल बाला देवीले गरिन् । २० वर्षपछि नेपाल फर्किएको सागमा नेपाल लगातार तेस्रो संस्करणमा स्वर्ण पदकबाट वञ्चित भएको थियो । त्यसअघि समूहमा भारत विजेता र नेपाल उपविजेता हुँदै सीधै फाइनलका लागि स्थान बनाएका थिए । समूह चरणमा पनि नेपाल भारतसँग १–० ले पराजित भएको थियो । 

सन् २०२२ : साफ महिला च्याम्पियनसिप, बंगलादेशसँग ३–१ को हार
छैटौँ साफ च्याम्पियनसिप सन् २०२२ पनि नेपालमै आयोजना भयो । साफ इतिहासमा पहिलोपटक भारतलाई १–० ले हराउँदै नेपालले फाइनल स्थान पक्का गरेको थियो । नेपालले उपाधि भिडन्तमा नयाँ प्रतिद्वन्द्वीका रूपमा बंगलादेशलाई पाएको थियो । दशरथ रंगशालामा नेपाल बंगलादेशबाट ३–१ ले स्तब्ध भयो । बंगलादेशलाई जिताउन कृष्णारानी सरकारले दुई र सामसुनाहर जेआरले एक गोल गरेका थिए । नेपालका लागि अनिता बस्नेतले गरेको गोल फर्काइन् । नेपालले समूह चरणमा भुटानलाई ४–०, श्रीलंकालाई ६–० र सेमिफाइनलमा भारतलाई ३–१ ले हराएको थियो । 

सन् २०२३ : वाफ महिला च्याम्पियनसिप, जोर्डनसँग पेनाल्टीमा हार
महिला फुटबलमा निकै कमजोर मानिएको पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप खेल्न नेपाल सन् २०२३ मा साउदी अरेबिया पुगेको थियो । आठौँ संस्करणमा नेपालले आगन्तुक टोलीका रूपमा अवसर पाएको थियो । पहिलो सहभागितामा नेपालले फाइनलमा स्थान बनाउन सफल भयो । तर, फाइनलमा बलियो जोर्डनविरुद्ध पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भयो । यसअघि निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । ११औँपटक पनि नेपाल फाइनलमा पुगेर उपाधिबाट टाढा भएको हो । 

एन्फाले रोक्यो फाइनलको टिकट बिक्री
भारतविरुद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी टिकट बिक्री भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार हुने फाइनलको टिकट बिक्री–वितरण गर्न रोक लगाएको छ । दशरथ रंगशालामा नेपाल र साबिक विजेता बंगलादेशबिच फाइनल हुँदै छ । टिकट बिक्रीको जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिले सोमबार बिहानदेखि फाइनलको टिकट बिक्री गरेपछि एन्फाले बन्द गरेको थियो । 

एन्फाले अर्काे सूचना जारी नहुँदासम्म तत्काललाई टिकट बिक्री र खरिद नगर्न दर्शकलाई अनुरोध गरेको छ । ‘१४ कात्तिकमा बुधबार साँझ ६:३० बजेबाट दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट बिक्री–वितरणसम्बन्धी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सबैका लागि जानकारी गराएको छ,’ एन्फाका प्रवक्ता सुरेश साहले भने, ‘सम्झौताविपरीत टिकट बिक्री गरेका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सत्यतथ्य बुझ्ने कार्य भइरहेको छ ।’ भारत र नेपालबिचको खेलमा रंगशालाभित्र खुट्टा टेक्ने स्थानसमेत थिएन । रंगशालाका सबै ढोका खुला गरेपछि सुरक्षाकर्मीले समर्थकलाई रोक्न हम्मे–हम्मे परेको थियो ।

सुझावित समाचार