भिस्तारा एयरलाइन्सको जहाजमा बम राखेको ‘हल्ला’ सेलाउन नपाउँदै एयर इन्डियाले पनि त्यस्तै अफवाह भोग्नुपरेको छ । एक साताको बिचमै नयाँदिल्लीबाट आएका दुई जहाजमा बम राखेको सूचना आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तनाव सिर्जना भएको छ ।
सोमबार एयर इन्डियाको जहाजमा ‘बम’ राखेको अफवाह फैलाइएको विमानस्थल कार्यालयले जनाएको छ । ६ कात्तिकमा भिस्तारा एयरलाइन्सको जहाजमा बम राखेको हल्ला फैलाइएको थियो । दुवै जहाजलाई नेपाल आर्मीले नियन्त्रणमा लिएर सर्च गर्दा कुनै शंकास्पद वस्तु भेटिएन । कुनै पनि जहाजमा बम राखेको हल्ला फैलिएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएर बम रहे–नरहेको यकिन गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रोटोकल छ ।
नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज सोमबार दिउँसो तीन बजेतिर अवतरण गरेको थियो । काठमाडौंबाट दिल्ली जाने यात्रु जहाज चढ्न थालेका वेलामा एयर इन्डियाको काठमाडौंमा कार्यरत सेक्युरिटी म्यानेजरलाई बम राखिएको भन्दै फोन आएको थियो । उक्त समयमा जहाजमा ४० जना यात्रु चढिसकेका थिए । त्यसपछि सबै यात्रुलाई झारेर उनीहरूको ह्यान्डब्याग, लगेज, जहाजको बाहिरी र भित्री भाग सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । जहाजमा बम फेला नपरेपछि बम राखेको सूचनालाई ‘होक्स कल’ घोषणा गरी पुनः उडानका लागि रिलिज गरिएको थियो ।
जहाज सोमबार साँझ साढे ६ बजे यात्रु बोकेर दिल्लीतर्फ उडेको क्यानका सहप्रवक्ता भुलले बताए । एयर इन्डियाको जहाज २:५५ मा काठमाडौंमा अवतरण गरी ३:५५ बजे दिल्ली फर्किने तालिका थियो । ‘दिल्लीबाट काठमाडौं आएका यात्रुहरू झारेर दिल्ली जाने यात्रु चढाइरहेका वेला बम राखेको सूचना आएको थियो,’ उनले भने, ‘विमानस्थलमा तैनाथ आर्मी र पुलिसको टोलीले जहाज नियन्त्रणमा लिएर सर्च गर्दा कुनै शंकास्पद वस्तु फेला परेन ।’
भिस्तारा एयरलाइन्सको जहाजमा पनि बम राखेको सूचना ‘होक्स कल’ थियो । पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका भारतीय वायुयानहरूमा बम राखेको फेक सूचना दिएर त्रासदी फैलाउने काम भइरहेको छ । अहिलेसम्म एक सयभन्दा बढी उडानमा ‘होक्स कल’ आइसकेको भारतीय मिडियाले जनाएका छन् । बम राखेको हल्लाले एयर इन्डिया र भिस्तारा सबैभन्दा बढी प्रभावित छन् । एयर इन्डिया र भिस्तारा दुवै टाटा ग्रुपको स्वामित्वका हुन् ।