सल्यानमा मिनी ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। मृत्यु हुनेमा स्थानीय १४ वर्षीयका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षीया सिर्जना बस्नेत रहेको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए। उनका अनुसार दुईजनाको घटनास्थलमै र एकजनाको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।
दुर्घटना परी अन्य नौजना घाइते भएका छन्। घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जित बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत रहेका छन्। २९ वर्षीय शंकर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत पुन, मिनी ट्रकचालक २४ वर्षीय मानबहादुर भण्डारी र सहचालक १८ वर्षीय रोनक भण्डारी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले घाइते सबैलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल, कपुरकोट गाउँपालिकाको अस्पतालमा राखिएको छ। घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्ने तयारी गरिएको उनको भनाइ छ।
सल्यानको कपुरकोट गाउँपालिका–६, सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनी ट्रक सोमबार साँझ करिब ६ बजेतिर दुर्घटनामा परेको हो।
मिनी ट्रक सडकदेखि १५० मिटर तल खसेको छ। साँघुरो बाटो भएकाले दुर्घटनामा परेको देखिए पनि कसरी दुर्घटना भयो भन्ने नखुलेको प्रहरीको भनाइ छ।